काठमाडौं । चीनको सबैभन्दा ठूलो ‘न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले सन् २०२३ को ५ महिनामा १० लाख २ हजार ५९१ यूनिट गाडी बिक्री गर्न सफल भएको छ । कम्पनीले मे महिनामा २ लाख ४० हजार २२० यूनिट गाडी बिक्री गरेपछि १० लाख यूनिटको आँकडा पुरा भएको हो ।
बीवाइडीले सन् २०२३ को अप्रिल महिनामा २ लाख १० हजार २९५ यूनिट बिक्री गरेको थियो । अप्रिलको तुलनामा मे महिनामा १४.२३ प्रतिशतले बिक्री बढाउन सफल भएको हो ।
कम्पनीले गत वर्षको मार्चबाट इन्टरनल कम्बस्चन इन्जिन मात्र भएको गाडी उत्पादन रोकेको थियो । अहिले कम्पनीले प्योर ईभी र हाइब्रिड इन्जिन युक्त सवारीसाधन मात्र बनाउँदै आएको छ । मे महिनामा कम्पनीले १ लाख १९ हजार ६०३ यूनिट ब्याट्री इलेक्ट्रीक र १ लाख १९ हजार ४८९ यूनिट प्लगइन हाइब्रिड कार बिक्री गरेको हो ।
प्यासेन्जर कारसँगै बीवाइडी ठूला कमर्शियल गाडी उत्पादक समेत हो । मे महिना कम्पनीले १ हजार १२८ यूनिट कमर्शियल गाडी बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ ।
बीवाइडीले चीनका अलावा विभिन्न अन्तर्राष्ट्रिय बजारमा पनि आफ्ना गाडीहरु बिक्री गर्दै आएको छ । गत मे महिनामा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा १० हजार २०३ यूनिट गाडी बिक्री गरेको हो ।
यो वर्ष ३० लाख यूनिट गाडी बेच्ने लक्ष्य राखेको बीवाइडीले बाँकी ७ महिनामा औषत प्रति महिना २ लाख ८५ हजार यूनिट गाडी बिक्री गर्नु पर्ने हुन्छ ।


