काठमाडौं । जापानी अटोमोबाइल जायन्ट होन्डा मोटर्सले भारतमा बनाएकाे पहिलो कम्प्याक्ट एसयूभी एलिभेटको ग्लोबल डेब्यू भएकाे छ । कम्पनीले आज भारतको दिल्लीमा एक कार्यक्रम गर्दै कम्प्याक्ट एसयूभी एलिभेट सार्वजनिक गरेको हो ।
भारतीय बजारमा सीआरभी तथा डब्ल्यूआरभीको उत्पादन बन्द भएपछि होन्डाले ल्याएको यो पहिलो एसयूभी हो । कम्प्याक्ट एसयूभी एलिभेट भारत र नेपाल जस्ता खराब सडक भएका देशका लागि उत्कृष्ट एसयूभी हुने बताइएको छ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम छ ।
होन्डा एलिभेटको लम्बाई ४३१२ एमएम, चौडाई १७१९ एमएम र उचाई १६५० एमएम छ भने यसमा २६५० एमएमको ह्वीलबेस पाउन सकिन्छ । यो एसयूभीको टर्निङ रेडिएस ५.२ मिटरको रहेको छ । एलिभेटमा स्लीक हेडल्याम्प, एलईडी डीआरएल सहितको आकर्षक हेडल्याम्प तथा एलइडी टेललाइट छ ।
यसमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३६० डिग्री क्यामरा, कुल्ड ग्लोबबक्स, वायरलेस एप्पल कारप्ले तथा एन्डरोइड अटो, वायरलेस मोवाइल चार्जिङ प्याड, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, सिंगल प्यानल सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, स्टेरिङ माउन्टेड कन्ट्रोल स्वीच जस्ता फिचरहरू छन् ।

होन्डाले एलिभेट पाँचौ जेनेरेशनको होण्डा सिटी सेडान बनेको प्ल्याटफर्ममा बनेको हो । यसमा नयाँ चार सिलिण्डरको भीटीइसी १.५ लीटरको पेट्रोल इन्जिन रहेको छ । जसले १२१ पीएस पावर तथा १४५ न्यूटन मिटरको टर्क प्रदान गर्छ । यो एसयूभीमा ६ स्पीडको म्यानुअल वा सीभीटी अटोमेटिक गियर बक्सको अप्सन रहेको छ ।
होन्डाले एलिभेटमा क्यामरा बेसको सेन्सिङ एडास सुइट दिएको छ । लेबल २ को यो एडास सिस्टमले कोलिजन मेटिगेसन ब्रेकिङ सिस्टम, लेन किप असिस्ट सिस्टम, अटो हाइबिम, रोड डिपार्चर मेटिगेसन सिस्टम, अडाप्टिप क्रुज कन्ट्रोल, लिडकार डिपार्चर नोटिफिकेसन जस्ता फिचर रहेको छ । अन्य सुरक्षा फिचरमा लेनवाच, रियर सिट रिमाइन्डर, भेहिकल स्टेबिलिटी असिस्ट, हिल स्टार्ट असिस्ट, इमर्जेन्सी स्टप सिग्नल आदि छन् ।

कम्प्याक्ट एसयूभी सेग्मेन्ट आउने यो एसयूभीले हुन्डाईको क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्राण्ड भिटारा, स्कोडा कुशक, फक्सवागेन टाइगुन तथा एमजीको एस्टरसँग सिधा प्रतिस्पर्धा गर्नेछ । आकर्षक फ्रन्ट ग्रिल डिजाइन भएको यो एसयूभीको बिक्री भने आगामी चाडपर्वको सिजनबाट सुरू हुने जनाइएको छ ।

