सरकारले २०% कर छुट दिँदा केटीएमले घटायो, बेनेलीले घटाएन मूल्य

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेटले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा २० प्रतिशत अन्तःशुल्क छुट दिएपछि मोटरसाइकलको मूल्य घट्ने क्रम जारी छ ।

२५० सीसी क्षमताको एड्भेन्चरमा मोटरसाइकल सेग्मेन्टमा नेपाली बजारमा केटीएम र बेनेलीको मोटरसाइकल बिक्री हुँदै आएका छन् । बजेट अघि लगभग उस्तै मूल्य रहेको एड्भेन्चर मोडलमा केटीएमले मूल्य समायोजन गरे पश्चात् बेनेली १ लाख २५ हजार रुपैयाँ महंगो भएको हो ।

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले ‘टिआरके २५१’ को मूल्य ८ लाख २५ हजार रुपैयाँमा विक्री गर्दै आएको छ । कम्पनीले बजेट पश्चात् मोटरसाइकलको मूल्य घटाएको छैन । मूल्य घट्ने सम्भावना नरहेको कम्पनीको भनाई छ ।

केटीएम २५० एड्भेन्चर सार्वजनिक हुँदा यी दुबै मोटरसाइकलको मूल्य समान ८ लाख २४ हजार ९०० रुपैयाँ रहेको थियो । केटीएम मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले दुई पटक मूल्य घटाएर ६ लाख ९९ हजार ९०० रुपैयाँमा झारेको छ ।

एउटै सेग्मेन्टमा बिक्री भइरहेका केटीएम २५० एड्भेन्चर र बेनेली टीआरके २५१ बीच यस्ता फरक पाउन सकिन्छ ।

इन्जिन

केटीएम २५० एड्भेन्चर २४८ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ बीएच पावर तथा ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

बेनेलीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल टिआरके २५१ मा २४९ सीसी क्षमताको फोर स्टोक सिंगल सिलिण्डर, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९२५० आरपीएममा २५.८ पीएस पावर र ८००० आरपीएममा २१.१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।

ह्वील/सस्पेन्सन/ब्रेक

केटीएम २५० एड्भेन्चरको अगाडि डब्ल्युपी एपेक्स ४३ एमएम ट्राभल यूएसडी फर्क र रियरमा एपेक्सकै मोनोशक सस्पेन्सन दिइएको छ ।

बेनेली टिआरके २५१ मा अगाडि ४१ एमएमको अपसाइड डाउन फर्क र पछाडि शक एब्जर्वर सहितको स्वीङआर्म सस्पेन्सन पाउन सकिन्छ ।

यी दुबै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील र दुबै चक्कामा डिस्क ब्रेक तथा एबीएस फिचर पाउन सकिन्छ ।

इन्धन क्षमता / माइलेज

एड्भेन्चर टुरर मोटरसाइकलमा इन्धन क्षमता कति छ भन्ने विषय निकै महत्वपुर्ण हुन्छ । लामो यात्रा गर्न र अफरोड ट्रेलहरुमा चलाउन धेरै प्रयोग हुने भएको कारण यसमा धेरै इन्धन बोक्ने क्षमता दिइएको हुन्छ । केटीएमले यही कुरालाई मध्यनजर गर्दै १४.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ ।

त्यस्तै, बेनेलीले १८ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ । केटीएमले प्रति लिटर ३५ किलोमिटर माइलेज दावी गरेको छ भने, बेनेलीले ३४ किलोमिटर माइलेज दावी गरेको छ ।


Back_to_top