काठमाडौं । प्रकृति, भूवनोट र पर्यटकिय गन्तब्यको मिश्रण जिल्लाको रुपमा मनाङलाई लिन सकिन्छ । त्यस्तो ठाँउमा एड्भेन्चर फिल दिने क्रसफायर मोटरसाइकल चढेर यात्रा गर्नुको मज्जा नै छुट्टै ।
मनाङ जति सुन्दर छ, त्यति नै बाटोको कारण पुग्न कठिन पनि । मनाङ जाने सडकहरु कतिपय स्थानमा डर्ट बाइकको लागि तयार गरिएका ट्रयाक जस्ता छन् । अझै त्यसमाथि हल्का बर्षा हुने हो भने, यहाँको बाटो हिड्न निकै मुस्किल पर्छ ।
बेसीसहरबाट मनाङ जाने बाटोको मुख्य साधन भनेकै महिन्दा बोलेरो रहेछ । हरेक १५/२० मिनेटमा यात्रु र पर्यटक बोकेर हिड्ने बोलेरोले दिएको सेवा उपभोग गर्ने अधिकांश अन्तरिक र बाह्य पर्यटक थिए ।
मैले मेरा एक मित्र शुक्र गिरीसँग तिलिचो यात्रामा जाने निधो गरेको थिए । त्यसको लागि हाम्रो यात्राको साधन थियो ‘क्रसफायर ट्रेकर २५० ’ । दुई जनाको बीच दुई मोटरसाइकल भएको कारण धेरै विषयमा हामीले तुलनात्मक अध्ययन समेत गर्न पाएका थियौं ।
रुचीका हिसावले हामी दुबै ट्राभलर थियौं, भने पेशाले पत्रकार । हामीसँग भएको ट्रेकर २५० र एक्सपल्स २०० ले हाम्रो यात्रालाई सम्झन लायक बनाएको थियो ।
पेट्रोल र माइलेजका कुरा
मोटरसाइकलमा यात्रा जहाँसुकैको होस् सबैभन्दा बाइकमा पेट्रोल कति छ भन्ने हेर्नुपर्छ । मनाङ यात्रामा निस्कने ‘गेट वे’ लमजुङको सदरमुकाम बेशिसहर हो । त्यहाँबाट अगाडि गएपछि पेट्रोल पम्प पाइन्न । त्यसैले मनाङ जाने सबैले त्यहाँ आफुलाई चाहिने इन्धन भरेर अघि बढ्छन् ।
पेट्रोल पम्पमा पुगेर तेल भर्ने बेलामा क्रसफायरको ‘कि’ हरायो । त्यसले एकछिन हाम्रो यात्रा अन्योल बनाएको थियो । यात्रामा निस्केका शुक्र र मैले पालैपालो दुबै मोटरसाइकल चलाउने निधो गरेका थियौं । मैले नै चलाएको बेलामा मोटरसाइकलको साँचो हराएको थियो ।
![]()
वर्कशपमा लगेर क्रसफायरको फ्यूल ट्याङक क्यापको लक तोडेर टेपको साहायताले ट्याङक क्याप अडिने बनाएर ५.५ लिटर पेट्रोल हाल्यौं । ट्याङ्क क्याप राम्रोसँग नलाग्ने भएको कारण ७ लिटर क्षमताको ट्रेकर २५० मा ५.५ लिटर मात्रै पेट्रोल हाल्ने निर्णय लिएका थियौं । यदि नपुगेको खण्डमा एक्सपल्सबाट इन्धन निकाल्ने विकल्प थियो ।
बेसीसहरबाट मनाङको खाङसार पुग्दा हाम्रो क्रसफायरमा लगभग ३ लिटर पेट्रोल बाँकी छ भन्ने हामीले अनुमान लगायौं । बेसीसहरदेखि खाङसारसम्म १०१ किलोमिटर यात्रा भएको मोटरसाइकलको ट्रिप मिटरमा देखिएको थियो ।
तीन दिनदेखि हाम्रा दुबै साधन खाङसारमा थिए । हामी तिलिचो दृष्यावलोकनपछि खाङसार फर्कदै थियौं । हामीलाई चिन्ता ट्रेकर २५० मा पेट्रोल हाल्नु पर्छ भन्ने थियो । विकल्पमा एक्सपल्समा रहेको पेट्रोल निकाल्नु पर्थ्यो ।

जहाँ सकिन्छ, त्यहि निकालौंला भनेर हामी खाङसारबाट झर्यौ । खाङसारबाट फर्किदा धेरैजसो बाटो ओरालो थियो । बाँकी भएको पेट्रोलले हाम्रो क्रसफायर बेसीसहर आइपुग्यो । हामीले यात्रा गरेको बाटो २०० किलोमिटर पुरा भएको थियो । क्रसफायरले अफरोडमा प्रतिलिटर ३५ किलोमिटर माइलेज दियो ।


