फोर्डका अध्यक्ष भन्छन्, ‘चिनियाँ ईभी’सँग प्रतिस्पर्धा गर्नै कठिन

काठमाडौं । अमेरिकी नागरिकको जीवनस्तर माथि उठाएर समाजमै अलग पहिचान स्थापित गरेको कार कम्पनी फोर्डका अध्यक्ष बील फोर्डले चिनियाँ ईभी उत्पादकसँग प्रतिस्पर्धामा आफुहरु जानै नसक्ने अवस्था आएको बताएका छन् ।

उनले अमेरिकी टेलिभीजन सीएनएनलाई दिएको एक अन्तर्वार्तामा अमेरिकी ब्राण्डले चिनियाँ इलेक्ट्रीक भेहिकल उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

चिनियाँ कम्पनीहरु ईभी उत्पादनमा आक्रमक रहेको बताउँदै उनले भने, ‘चिनियाँ कम्पनीहरु एकदमै छिटो नयाँ प्रविधिको विकास गर्छन्, र उनिहरुको उत्पादन पनि ठूलो परिमाणमा भइरहेको छ । अब उनिहरु आन्तरिक बजारमा मात्रै नभएर विश्व बजारमा निर्यातको लागि तयार भएका छन् । अमेरिकामा कुनै न कुनै दिन उनिहरुको उत्पादन आउने छ । त्यतिवेला प्रतिस्पर्धा गर्न हामी तैयार भएर बस्नु पर्ने हुन्छ ।’

गत मे महिनामा फोर्डका सीईओ जीम फार्लेले पनि चिनियाँ कम्पनीको बारेमा बोलेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘भोलिका दिनमा फोर्डको मूख्य प्रतिस्पर्धा जनरल मोटर्स वा टोयोटासँग होइन । चिनियाँ ब्राण्डहरुसँग हुनेछ । त्यसैले हाम्रो उत्पादन एकदमै कम मूल्य र हाइटेक हुनुपर्छ । त्यसको लागि छुट्टै यूनीक ब्राण्ड बनाउन जरुरी छ ।’

सन् २०२३ मा नै ४४ लाख यूनिट कार निर्यात गर्दै विश्वकै ठूलो कार निर्यात गर्ने देश बन्ने बाटोमा चीन रहेको छ । उता, जापानी र अमेरिकी ब्राण्डहरु भर्खर ईभीमा जाने योजना अन्तर्गत नयाँ खोजमा लागेका छन् ।

फोर्डले गत फेब्रुअरीमा मिचीगन राज्यमा ३.५ बिलियन डलरको लगानीमा लिथियम आयोन फस्फेट ब्याटी प्लान्ट बनाउने घोषणा गरेको थियो । उक्त प्लान्टको प्राविधिक सहयोग भने चिनियाँ कम्पनी सीएटीएएलले गर्दैछ । सिएटीएएल विश्वकै ठूलो ब्याट्री उत्पादक हो ।

अहिले चीनमा बीवाइडी, एसएआईसी, एक्सपेङ, एनआईओ, विलिङ, जिली, चेरी जस्ता ब्राण्डले विद्युतीय कार उत्पादनमा आक्रमक रणनीति अंगिकार गरेका छन् ।


Back_to_top