कोटेश्वर–जडीबुटी सडकमा हुने दैनिक जाम स्थायीरुपमा नै हटाउन सडक बिभाग अन्तर्गतको पुल महाशाखाले टेन्डर आह्वान गरेको छ ।
‘हनुमन्ते र मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा ल्याउन सकिन्छ कि भनेर हामीले टेन्डर आह्वान गरेका छौं’ सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले मेरोअटोसँग भने ।
श्रेष्ठकाअनुसार सम्भब भएसम्म बेलिब्रिज आगामी तिहारअघि नै सञ्चालनमा ल्याइने छ, अहिले ३० दिनको म्याद राखेर ठेक्का आह्वान गरिएको छ ।
अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेकाले यो पुलको निर्माण सडकको चाप घटाउने विभागको आँकल रहेको छ ।
त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ ।
सांसद महेश बस्नेत, सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको टोलिले स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाउने कामलाई अगाडि बढाएको हो ।


