काठमाडौं । होन्डाले भारतीय बजारलाई ध्यानमा राखेर उत्पादन गरेको एलिभेटको पहिलो उत्पादन प्लान्टबाट बाहिर आएको छ । कम्पनीले सेप्टेम्बर पहिलो साताबाट भारतमा यसको बिक्री सुरु गर्न लागेको हो ।
भारतमा बिक्री सुरु भएको केही दिनपछि नै नेपालमा पनि एलिभेटको बिक्री सुरु हुनेछ । होन्डाले सन् २०२६ सम्म भारतीय बजारलाई हेरेर ५ नयाँ एसयूभी ल्याउने यसअघि नै घोषणा गरेको थियो । ती ५ मध्य एलिभेट पहिलो मोडल हो ।
‘हामी एलिभेट ल्याउन आवश्यक तयारीमा छौं । सेप्टेम्बर अन्तिमसम्ममा ल्याउने योजना बनाएका छौं’, आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।
होन्डा एलिभेट कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको एसयूभी हो । यो सेग्मेन्टको मार्केट लिडर हुन्डाई क्रेटा हो । त्यसैगरी किया सेल्टोस, सुजुकी ग्राण्ड भिटारा जस्ता मोडल निकै राम्रो संख्यामा बिक्री हुँदै आएको छ । साथै, स्कोडा कुशक, फक्सवागेन टाइगुन जस्ता मोडल पनि यहि सेग्मेन्टमा पर्छन् ।
होन्डा एलिभेटको लम्बाई ४३१२ एमएम, चौडाई १७९० एमएम, उचाई १६५० एमएमको रहेको छ । यसमा २६५० एमएमको ह्वीलबेस पाउन सकिन्छ । टप भेरियन्टमा १७ इन्चको डायमण्ड कट अलोय ह्वील रहेको एलिभेटमा ग्राउण्ड क्लियरेन्स भने सेग्मेक्ट कै सबैभन्दा धेरै २२० एमएम रहेको छ ।
होन्डा एलिभेटको एक्टेरियर होन्डाको एसिया प्यासेफिक आर एण्ड डी सेन्टर थाइल्याण्डमा विकास भएको हो । यसको फ्रन्ट लुक्स निकै बल्की देखिएको छ । यसमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट्स पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।
‘प्रोगेसिभ एण्ड प्रोटेक्टीभ’ कन्सेप्टमा आधारित एलिभेटको इन्टेरियरमा ठूलो साइजको हेडरुम, लेग तथा नि रुम दिइएको छ । यसको डोर र ड्यासबोर्डमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ ।
एसयूभीको अपहोलिष्टीकमा ब्राउन कलरको लेदरेट प्रयोग भएको छ । यसमा ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ ।
सुरक्षाको लागि होन्डा सेन्सिङ एडास फिचर रहेको छ । जस अन्तर्गत फ्रन्ट कोलीजन वार्निङ, ब्रेक असिस्ट, एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, लेन किप असिस्ट जस्ता फिचर छन् ।
यसका अलावा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामरा, आइएसओ फिक्स रियर सिटको साथमा ६ वटा एयरब्याग छन् ।
होन्डा एलिभेटमा १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड, फोर सिलिण्डर, आइभीटेक पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर तथा १४५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
एलिभेटमा सिभीटी अटोमेटिक र ६ स्पीड म्यानुअल गियरबक्स रहने छ । होन्डाले सन् २०२६ सम्ममा एलिभेटलाई हाइब्रिड र प्योर इलेक्ट्रीक भर्सनमा समेत ल्याउने घोषणा गरिसकेको छ ।


