काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीको एटो-३ नेपाली बजारमा पछिल्लो समय सबैभन्दा सफल विद्युतीय कार (ईभी) मोडल हो । आकर्षक डिजाइन तथा प्रिमियम फिचरहरूको कारण एटो-३ जोकोहीको पहिलो रोजाइमा पर्ने गरेको छ ।
अत्याधुनिक प्रविधिबाट बनेको सबैभन्दा सुरक्षित ब्लेडब्याट्री ग्राहकको छनोमा पर्नुको मुख्य कारण हो । यसको आन्तरिक डिजाइनमा खोट लगाउने ठाउँ नभए पनि एक्टेरियरमा भने ईभी प्रेमीहरू त्यति सन्तुष्ट भएको पाइँदैन ।
यसैबीच, नेपाली बजारमा सफलताको शिखर चुमिरहेको एटो-३ लाई टक्कर दिन अर्को चिनियाँ ब्राण्ड भित्रिएको छ । चीन सरकारको स्वामित्वको चेरी मोटर्स अमोडा ईभी नयाँ ब्राण्डको रुपमा नेपाली बजारमा भित्रिएको छ ।
अमोडाको नेपालका लागि आधिकारिब बिक्रेता एसपीजी अटोमोबाइले अमोडा ई-५ नेपाल भित्र्याएको हो । यद्यपि, यसको रोडटेष्टिङ लगायत प्रक्रिया पूरा गर्न बाँकी रहेकाले नेपाली बजारमा केही हप्तापछि मात्रै बिक्री सुरू हुनेछ ।

अमोडाको पहिलो इलेक्ट्रीक मोडल ई-५ फ्युचरिस्टिक डिजाइनमा रहेको छ । प्रिमियम क्याबिन फिचर, आकर्षक डिजाइन तथा अत्याधुनिक प्रविधि भएकाले अमोडा ई-५ चाँडैै नेपाली ईभी ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।
अमोडाले आफ्नो ईभीमा बीवाइडीकै ब्याट्री उत्पादक कम्पनी फिनड्रिम्सको ब्लेडब्याट्री प्रयोग गरेको छ । जसले गर्दा यसको सुरक्षामा कुनै शंका छैन ।
अमोडा ई-५ मा ६१ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाटको मोटर रहेको छ । अमोडाको जस्तै एटो-३ को सुपेरियर भेरियन्टमा पनि ६०.४८ किलोवाटको ब्याट्री र १०० किलोवाटको मोटर रहेको । एक अर्काका प्रतिस्पर्धी बन्न सक्ने यी दुई एसयूभीको हामीले यहाँ तुलना गरेका छौं ।
१. डायमेन्सन र ग्राउण्ड क्लियरेन्स
बीवाइडीको एटो३ को लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १६१५ एमएम रहेको छ । यसको ह्वीलबेस २७२० एमएम तथा १७५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । बीवाइडी एटो-३ मा ४४० लिटरको बुटस्पेश रहेको छ । यो एसयूभीमा १८ इन्चकोे डिउलटोन अलोय ह्वील तथा २१५/५५ साइजको टायर रहेको छ । यसको कर्भवेट १७५० केजी तथा ग्र्रसवेट २१६० केजी रहेको छ । बीवाइडीले एटो-३ मा स्पेयर ह्वील नदिइ पंचर किट मात्र दिएको छ ।

अमोडाको ई-५को लम्बाइ ४४२४ एमएम, चौडाइ १८३० एमएम, उचाइ १५८८ एमएमको रहेको छ । यसको ह्वीलबेस २६३० एमएमको र ग्राउण्ड क्लियरेन्स १८० एमएमको रहेको छ । अमोडा ई-५ मा ३६० लिटरको बुटस्पेश पाउन सकिन्छ । यो एसयूभीमा पनि १८ इन्चको डिउलटोन अलोयह्वील तथा २१५/५५ साइजको टायर रहेको छ । यसको कर्भवेट १३८१ केजी तथा ग्रसवेट १६१० केजीको रहेको छ । अमोडाले ई-५ सँग स्पेयर ह्वील पनि दिने जनाएको छ ।
डायमेन्सको मामलामा बीवाइडी एटो-३ भन्दा अमोडाको ई-५ केही एमएमले सानो रहेको छ । एटो-३ को तौल पनि अमोडाको भन्दा ३६९ केजीले बढी छ । तर, नेपाली बाटोमा अत्याधिक कामलाग्ने ग्राउण्ड क्लियरेन्स भने अमोडाको ५ एमएमले धेरै रहेको छ ।
२. ब्याट्री र मोटर पावर
बीवाइडी एटो-३ को सुपेरियर भेरियन्टमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसको डब्लूएलटीपी रेन्ज ४२० किलोमिटर रहेको छ । यो ब्याट्रीप्याकले ७.४ किलोवाटको एसी चार्जर तथा ८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसमा ३.३ किलोवाटको भी२एल आउटपुट रहेको छ । कम्पनीले गाडीसँगै ३.३ किलोवाटको होम चार्जर दिन्छ ।
अमोड ई-५ मा ६१ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यसको डब्लूएलटीपी रेन्ज ४३० किलोमिटर रहेको छ । यो ब्याट्रीप्याकलाई ९.९ किलोवाटको एसी चार्जर तथा ८० किलोवाट सम्मको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । यसमा ३.३ किलोवाटको लोडव्यालेन्सीङ म्यानेजमेन्ट सिस्टम सहितको भी२एल आउटपुट रहेको छ । कम्पनीले गाडीसँगै ३.३ किलोवाटको होम चार्जर दिन्छ ।

बीवाइडी एटो-३ मा १०० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिङक्रोनियोस फ्रन्टह्वील ड्राइभ मोटर रहेको छ । यो मोटरले १३४ हर्सपावर तथा ३१० न्यूटनमिटरको टर्क जेनेरेट गर्छ । एटो-३ सुपेरियर जम्मा ९.७ सेकेण्डमा १०० किलोमिटरको स्पीडमा गुड्न सक्छ ।
अमोडा-ई ५ मा ९९ किलोवाटको पर्मानेन्ट म्याग्नेट सिङक्रोनियोस फ्रन्टह्वील ड्राइभ मोटर रहेको छ । यो मोटरले १३२ हर्सपावर तथा ३४० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसको टपस्पीड १७२ किलोमिटर प्रतिघण्टाको रहेको छ ।
३.सुरक्षा फिचर
दुवै एसयूभी एटो-३ र अमोडा ई-५ ले युरो एनक्यापको क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएका छन् । सुरक्षाका लागि एटो-३ मा एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास ) फिचर रहेको छ ।

यो एसयूभीमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, डिजिटल भिडियो रेकर्डर, टायर प्रेसर मोनिटरिङ, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, ईपीबी, एबीएस, ईएसपी, टीसीएस, ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, अडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट डिटेक्सन, इलेक्ट्रीक पार्किङ ब्रेक लगायत फिचर छन् ।
त्यस्तै, अमोडा ई ५ मा पनि सुरक्षाका लागि १८ थरिको फिचर रहेको एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास २.५) रहेकाे छ । यसमा ६ वटा एयरब्याग, ५४० डिग्री क्यामरा, डिजिटल भिडियो रेकर्डर, टायर प्रेसर मोनिटरिङ, रियर पार्किङ सेन्सर, ईपीबी, एबीएस, ईएसपी, टीसीएस, ईबीडी, हिल स्टार्ट र डिसेन्ट असिस्ट, अडाप्टीभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट डिटेक्सन, इलेक्ट्रीक पार्किङ ब्रेक आदि जस्ता फिचर छन् ।
४. क्याबिन फिचर
बीवाईडीको एटो-३ मा १२.८ इन्चको रोटरी टचस्क्रीन तथा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल रहको छ । म्युजिक र एथलेटिक्सको थिममा रहेका एटो-३ मा ८ वटा स्पीकर, भोइस असिस्ट, एप्पलकारप्ले तथा एण्डरोइड अटो जस्ता फिचर रहेको छ ।

मल्टीकलर एम्बियन्ट लाइट, वायरलेस फोन चार्जर, पोर्टेबल कार्ड की, टायर रिपियर किड, अटोमेटिक एयर कण्डिसन, पीएम २.५ एयर फिल्टर, प्यानारोमिक सनरुफ, इलक्ट्रीक टेलगेट, हिटेड ओआरभीएम, ६ वे इलेक्ट्रीक पावर ड्राइभर सिट, ४ वे पावर प्यासेन्जर सिट लगायत प्रिमियम फिचर रहेको छ ।

त्यस्तै, अमोडा ई-५ मा १०.२५ इन्चको आपल कार प्ले तथा एण्डरोइड अटो सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम तथा कनेक्टेड १०.२५ इन्चकै इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । सोनीको प्रिमियम ८ वटा स्पिकर सहितको म्यूजीक सिस्टम रहेको अमोडामा २५६ कलरको एम्बियन्ट लाइट रहेको छ । ५० वाटको वायरलेस फोन चार्जर, स्पेयर ह्वील, अटोमेटिक एयर कण्डिसन, पीएम २.५ एयर फिल्टर, प्यानारोमिक सनरुफ, इलक्ट्रीक टेलगेट, हिटेड ओआरभीएम, ६ वे इलेक्ट्रीक पावर ड्राइभर सिट, ४ वे पावर प्यासेन्जर सिट भेन्टिलेटेड फ्रन्ट सिट, आदि जस्ता प्रिमियम फिचर रहेको छ ।
५. मूल्य र वारेन्टी
नेपालको लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ६०.४८ किलोवाट अवार ब्याट्रीप्याक भएको एटो-३ सुपेरियरको मूल्य ६५.८८ लाख राखेको छ । बीवाइडीले एटो-३ मा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ ।
त्यस्तै, चेरी अमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले अमोडा ई-५ को मूल्य ५९.४९ लाख तोकेको छ । कम्पनीले यसको ब्याट्री तथा मोटरमा पनि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।
साइजमा केही सानो भएता पनि मूल्यमा ६.३९ लाख कम हुनु, १८० एमएमको ग्राउण्ड क्लियरेन्स, ५४० डिग्री सराउण्ड क्यामरा, भेन्टिलेटेड फ्रन्टसिट तथा ४३० किलोमिटरको रेन्जका कारण अमोडा ई५ भ्यालु फर मनि देखिन्छ । तर, विगत ५ वर्षदेखि नेपाली बजारमा उपलब्ध रहेको र न्यू इनर्जी भेहिकलमा विश्वकै सबैभन्दा ठूलो उत्पादक भएकाले बीवाइडीलाई केही प्रिमियम तिर्न ग्राहकहरू पछि नपर्लान !

