काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चढेको पुरानो कार ‘लेम्बर्गीनी डियाब्लो भीटी रोडस्टर’ ११ लाख डलर (नेपाली रुपैयाँ १४ करोड ५२ लाख) मा बिक्री भएको छ । गत शनिबार भएको एक लिलामीमा उक्त गाडी बिक्री भएको हो ।
ट्रम्पले सन् १९९७ मा खरिद गरेको उक्त गाडी निलो कलरको थियो । खरिद गरेको २६ वर्षपछि उक्त कार ठूलो रकममा बिक्री भएको हो ।
लेम्बर्गीनी डियाब्लो भीटी रोडस्टरलाई किनेपछि ट्रम्पले स्पेशल कस्टुमाइज गराएका थिए । यो कारमा ५.७ लिटर क्षमताको नेचुरल एस्पिरेटेड भी १२ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ४९२ हर्सपावर उत्पादन गर्छ । यो सुपरकारको टपस्पीड ३२५ किलोमिटर प्रतिघण्टाको रहेको छ ।
अहिले यो कार ट्रम्पको भने होइन । उनले सन् २००२ मै यसलाई बिक्री गरेका थिए । त्यसपछि सन् २०१६ मा पनि यो कार इवेमा बिक्रीका लागि राखिएको थियो ।
अहिलेसम्म केबल २४ हजार ८३४ किलोमिटर मात्र गुडेको लेम्बर्गीनी डियाब्लो भीटी रोडस्टरले निकै राम्रो मूल्य पाएको छ । विभिन्न समयमा खरिद बिक्री भइरहको उक्त कार अहिले बिक्रीमा राख्दा भने डोनाल्ड ट्रम्पले चढेको कार भनेर चर्चामा आएको हो ।


