काठमाडौं । विद्युतीय कारमा प्रयोग भएका आधुनिक टेक्नोलोजीको चर्चा सबैतिर सुन्न पाइन्छ । त्यसमाथि अमेरिकी लग्जरी इलेक्ट्रीक कार ब्राण्ड टेस्लाको चर्चा त हरेक कोणबाट हुने गरेको छ ।
अमेरिकी कार ब्राण्ड टेस्लाको अटोनोमस टेक्नोलोजी बारे एउटा घटनाले पुनः बजार तातेको छ । सन् २०२४ अप्रिल १ तारिखबदेखि टेस्लाले अमेरिकाभर आफ्नो कारमा भएको ‘फुल सेल्फ ड्राइभिङ फङ्सन अनलक’ गरिदिएको थियो । त्यही रात २ बजे घटेकोे एउटा घटना अहिले सोसल मिडिया ‘एक्स’मा चर्चाको विषय बनिरहेको छ ।
टेस्ला कार प्रयोगकर्ता म्याक्सपल फ्रयाङ्कलिन नाम गरेका व्यक्तिले एक्समा लेखेका छन्, ‘टेस्ला कारले गर्दा आज मेरो ज्यान जानबाट बचेको हो,’ उनले भनेका छन्, ‘म एक सुगरको बिमारी हुँ, टेस्लाले फुल सेल्फ ड्राइभिङ फङ्सन खुल्ला गरेको दिन रातको २ बजे आफ्नो टेस्ला मोडल वाइ चलाइरहेको थिएँ । ड्राइभिङको क्रममा मलाई डिहाइड्रेशन महसुस भइरहेको थियो । त्यति बेलै मैले इन्सुलिन लिने क्रममा केही खराबी भएको र ग्लुकोज लेबल पूरै घटिसकेको अनुभव गरेँ ।’
उनले त्यस्तो अवस्थामा मैले समय बर्बाद नगरि मद्दतका लागि आफ्नो टेस्ला मोडल वाइ कारतर्फ ध्यान लगाएको बताए । ‘मैले स्टेरिङ ह्वीलमा मात्र दुई पटक ट्याप गरेर कम्पनीले सोही दिन अनलक गरेको फुल सेल्फ ड्राइभिङ सिस्टम अन गरेँ । म यसको रिजल्टबाट एकदमै आश्चर्य चकित भएँ,’ उनले भनेका छन् ।
बिना कुनै समस्या कारले लगभग २० किलोमिटर यात्रा आफैं गरेर मलाई मेरो घरको भीए इमर्जेन्सी ठाउँसम्म पुर्याएको उनले बताएक छन् । ‘यति मात्रै नभई कार आफै ग्यारेजमा पार्क समेत रामै्रसँग भयो । जसले गर्दा मलाई समयमै उपचार मिल्यो र मेरो ज्यान बच्न सफल भयो ।’
पोर्से, मर्सडिज, बीएमडब्ल्यू, एक्युरा र क्याडिलेक सहित धेरै लग्जरी कारको युजर रहेका म्याक्सपल भन्छन्, ‘आज स्पष्ट रूपमा भन्न सक्छु कि टेस्ला कारमा प्रयोग भएको अटोमोटिभ इनोभेसन टेक्नोलोजीलाई अहिलेसम्मकै टप र उत्कृष्ट मान्न सक्छु ।’


