मोटरसाइकल सेग्मेन्टमा यामाहा कमजोर बन्दा, ८ ब्राण्ड बन्द हुने संघारमा

काठमाडौं । लामो सयम सिथिल अवस्थामा रहेको मोटरसाइकलको ब्यापार बिस्तारै बढ्न थालेको छ । सन् २०२४ जनवरीदेखि मे महिनासम्मको तथ्यांकले मोटरसाइकलको आयात झण्डै १५० प्रतिशतले बढेको देखिन्छ ।

अघिल्लो वर्ष सन् २०२३ को सोही अवधिमा केबल १२ हजार १२६ यूनिट मात्र मोटरसाइकल आयात भएको थियो । यसवर्ष त्यो बढेर ३० हजार ३५७ यूनिट पुगेको हो ।

विगत तीन वर्षदेखि निरन्तर स्कुटरको आयात बढ्ने र मोटरसाइकलको आयात घट्ने क्रममा थियो । तर, सन् २०२४ को ५ महिनाको तथ्यांक अनुसार स्कुटरको तुलनामा मोटरसाइकलको आयात धेरै भएको छ । पाँच महिनाको अवधिमा २७ हजार ४६१ यूनिट स्कुटर आयात हुँदा ३० हजार ५०१ यूनिट मोटरसाइकल आयात भएको हो ।

बजाजले पछिल्ला ५ महिनामा ८ हजार ७७६ यूनिट मोटरसाइकल ल्याएर पहिलो स्थानमा आफुलाई सुरक्षीत राखेको छ । यो मोटरसाइकल सेग्मेन्टमा २८.९१ प्रतिशत हो । बजाज मोटरसाइकल बिक्रीमा लामो समयदेखि नम्वर एक ब्राण्डको रुपमा स्थापित छ ।

दोस्रो नम्वरमा टीभीएस पुगेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा आयात सुधार गरेको हो । यो वर्षका ५ महिनामा टीभीएसले ५ हजार २५४ यूनिट मोटरसाइकल आयात गरेको छ ।

४ हजार ३९८ यूनिट मोटरसाइकल आयात गरेको हिरो तेस्रो नम्वरमा छ । सिजी मोटर्सले हिरोका मोटरसाइकल आयात गरेसँगै मोटरसाइकल आयातमा राम्रो बृद्धि देखिएको हो । हिरोले छोटो समयमा नै लगभग १४ प्रतिशत मोटरसाइकल मार्केट लिएको देखिन्छ ।

त्यस्तै, होन्डाले मोटरसाइकल आयात सुधार गर्दै चौथो नम्वरमा आएको छ । पाँच महिनामा ४ हजार २४३ यूनिट मोटरसाइकल आयात गरेको छ । यामाहालाई रोयल इनफिल्डले पछि पारेको छ । रोयल इनफिल्डले यो अवधिमा ३ हजार ७४३ यूनिट मोटरसाइकल आयात गर्दा छैटौ स्थानमा खस्केको यामाहाले ३ हजार ३१९ यूनिट मात्रै आयात गरेको देखिन्छ ।

त्यसैगरी, केटीएमले ५३४ यूनिट मोटरसाइकल नेपाल भित्र्याउँदा अन्य कम्पनीले ९० यूनिट मोटरसाइकल नेपाल ल्याएका छन् ।

कुनै समय नेपालमा मोटरसाइकल बिक्री गर्ने टप ५ कम्पनीमा पर्ने सुजुकीले भने यो ५ महिनामा १ यूनिट पनि मोटरसाइकल आयात गर्न सकेको छैन ।

त्यसका अलावा जावा, येज्दी, बेनेली, जोन्टेस, मोटरहेड, टारो, हार्टफोर्ड, बीएमडब्लू, एमभी अगष्टा जस्ता मोटरसाइकल ब्राण्डले १ यूनिट पनि मोटरसाइकल आयात गर्न सकेका छैनन् । लामो समयदेखि मोटरसाइकल आयात गर्न नसकेको यी ब्राण्डहरु बन्द हुने अवस्थामा पुगेका छन् ।


Back_to_top