जुर्मुरायो भिनफास्ट, भारतमा नयाँ मोडलको परीक्षण, छिट्टै नेपाल आउने

काठमाडौं । भियतनामी न्यू इनर्जी भेहिकल कम्पनी भिनफास्ट भारतीय बजारमा बिक्री सुरू गर्ने तयारीमा जुटेको छ । कम्पनीले भारतमा प्लाण्ट नै लगाएर गाडी उत्पादन गर्ने भन्दै गत फेब्रुअरीबाट प्लाण्ट निर्माण थालेको हो ।

अहिले प्लाण्ट निर्माणको चरणमा रहेको र उक्त प्लाण्टबाट उत्पादन थाल्न केही महिना अझै लाग्ने भएको कारण तयारी गाडी आयात गरेर बिक्री गर्ने योजना अनुरूप नयाँ गाडीको परीक्षण गरिरहेको हो ।

नेपालको लागि एड्भान्स अटोमोबाइल आधिकारिक वितरक नियुक्त भइसकेको छ । उसले पनि आगामी अक्टोबर महिनासम्ममा भिनफास्टका उत्पादन बिक्री सुरू गर्ने लक्ष्य लिएको छ ।

भिनफास्टले भारतमा बिक्री गर्ने मोडल भीएफ ई ३४ सडक परीक्षणमा देखिएको हो । महाराष्ट्रको पुने सहरको सडकमा यसको परीक्षण भइरहेका तस्वीरहरू भारतीय मिडियाले प्रकाशित गरेका छन् ।

तस्वीरमा देखिए अनुसार भिनफास्ट भीएफ ई ३४ मा स्लिक टप माउण्टेड एलईडी हेडल्याम्प, बुमर्याङ स्टाइलको फगल्याम्प हाउजिङ र स्टाइलिस फ्रन्ट बम्पर देखिन्छ । यसको बडीलाई लो ड्रयाग कोफिसियन्ट बनाउनको लागि साइड प्यानलमा स्मुद र कर्भी लाइन प्रयोग भएको देखिन्छ ।

साइडमा बाक्लो बडी क्लाइडिङ, ५ स्पोक अलोय ह्वील, डोर क्लाइडिङ, बडी कलरको डोर ह्याण्डल, क्रोम विन्डो गार्नेस साथै बडी कलरकै पिल्लर रहेको देखिन्छ । नयाँ ईभीको ओआरभीएममा क्यामरा भएकोले ३६० डिग्री सराउण्ड भ्यू क्यामरा र ब्लाइण्ड स्पट मोनिटरिङ पाउन सकिनेछ ।

समग्रमा भिनफास्टको भीएफ ई ३४ को डिजाइन सामान्य तर आकर्षक देखिएको छ । यसको लम्बाइ ४३०० एमएम, चौडाइ १७६८ एमएम, उचाइ १६१५ एमएमको रहेको छ । यो ईभीको ह्वीलबेस २६११ एमएम छ ।

भिनफास्ट यो इलेक्ट्रीक एसयूभीमा १० इन्चको भर्टिकल पोजिसन भएको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको फुल कलर इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । यसमा भेन्टिलेटेड फेब्रिक सिट, एयर फिल्टर, यूएसबी पोर्ट, वाइफाइ कनेक्सन, किलेस इन्ट्री, एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर छन् ।

सुरक्षाको लागि ईभीमा टायर प्रेसर मोनिटरिङ सिस्टम, ६ वटा एयरब्याग, अकुपेन्ट स्टाटस डिटेक्सन र रियर पार्किङ क्यामरा पाउन सकिन्छ । एडास फिचर अन्तर्गत रियर क्रस ट्राफिक अलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, रियर पार्किङ असिस्ट, टाइम फेन्सिङ, रिमोट भेहिकल लोकेसन र सेल्फ डायग्नोसिस जस्ता फिचर रहने छन् ।

भियतनामी स्पेकमा ४१.९ किलोवाट आवरको लिथियम ब्याट्री प्याक रहेको एसयूभीमा ११२ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । टर्क भने २४२ न्यूटन मिटर प्रदान गर्छ । ई–३४ मोडलमा इको, कम्फर्ट र स्पोट्स गरी तीन फरक ड्राइभ मोड छन् । एक पटकको फुलचार्जमा ३१८.६ किलोमिटरको रेन्ज दिने एनईडीसी प्रमाणित गरको छ ।

यसमा रहेको ब्याट्री प्याकलाई फास्ट चार्जरको सपोर्टले मात्र २७ मिनेटमा १० बाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । भिनफास्टले भारतमा उत्पादन सुरू गरेपछि राइट ह्याण्ड ड्राइभ देशहरूमा निर्यात गर्ने योजना बनाएको छ ।

कम्पनीले भारतीय उत्पादन नेपाल, बंगलादेश, अफगानिस्तान लगायत मध्यपूर्वी देशहरूमा निर्यात गर्न सक्नेछ ।

 


Back_to_top