काठमाडौं । नाडा अटो शो २०२४ सम्पन्न भएको छ । ६ दिनसम्म चलेको अटो शोमा करिब ४ हजार युनिट कार बुकिङ भएको अनुमान गरिएको छ ।
यसपटक एमएडब्ल्यू ग्रुपले सबैभन्दा धेरै १ हजार युनिटभन्दा धेरै कार बुकिङ लिएको भन्दै केक नै काटेको थियो । यद्यपि, एमएडब्ल्यूले कुन मोडलको गाडी कति बुकिङ भयो भनेर खुलाएको छैन । एमएडब्ल्यू ग्रुप अन्तर्गत दीपल, सेरेस, नामी र शोकोन ब्राण्डले अटो शोमा सहभागिता जनाएका थिए ।
नेपालको सर्वाधिक गाडी बिक्री गर्ने कम्पनी बीवाइडी ७७० युनिट कार बुकिङ गरेको जनाएको छ । साइमेक्स इंकले ४९७ युनिट एटो–थ्री र डल्फिन २७३ युनिट बुकिङ भएको जनाएको छ ।
सिप्रदी ट्रेडिङले पन्च ईभी र टियागो ईभी मिलाएर ६४४ युनिट बुकिङ लिएको जनाएको छ । त्यसैगरी, ओमोडा÷जेको ब्राण्डले ३२३ युनिट गाडी बुकिङ गरेको जानकारी दिएको थियो ।

यी बाहेक सबै सहभागी कम्पनीले अटो शोमा राम्रो संख्यामा कार बुकिङ लिएको जनाएका छन् । हुन्डाई, दीपल, सेरेस, एमजी, नेटा, हेनरी, स्काइबेल, जिकर, अवतार, एक्सपेङ, सुजुकी, एवोन, सिट्रोन, किया, केई, बीएडब्ल्यू जस्ता ब्राण्डले राम्रै संख्यामा कार बुकिङ लिएको बताएका छन् ।
यही विषयलाई लिएर बजारमा विभिन्न किसिमका टिकाटिप्पणी सुरू भएका छन् । केहीले गाडीको बुकिङ संख्यामै शंका गरेका छन् भने केहीले बुकिङ अनुसार बिक्री नहुने बताएका छन् । बुकिङ भएका मध्ये कति चाहिँ गाडी बिक्री हुन्छन् त ? सबैको जिज्ञासा रहेको छ ।
यसो भन्छन् बिक्रेता
विगत वर्षदेखि नै अटो शोमा गएर गाडी बुकिङ गर्नेहरूको संख्या धेरै हुने गथ्र्यो । तर, यसरी भएका सबै बुकिङ सेल्समा परिणत भने हुँदैनन् । गाडी बिक्रेताहरू सामान्य अवस्थामा ३० देखि ६० प्रतिशतसम्म बुकिङ सेल्समा परिणत हुने बताउँछन् ।
‘प्रोडक्ट, प्रतिस्पर्धी र बुकिङकर्ता चाहनाले धेरै कुरा निर्भर गर्छ । निकै राम्रो अवस्थामा ६० प्रतिशत र ठिकठाक अवस्थामा ३० प्रतिशतसम्म बुकिङहरू सेल्समा परिणत हुन्छ,’ एक सवारी बिक्रेताले भने ।
विगतमा पनि अटो शोको बुकिङ ६० प्रतिशतभन्दा बढी सेल्समा परिणत भएको तथ्यांक नभएको सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल युनिटका महाप्रबन्धक शावन्तजंग सिजापति बताउँछन् ।

अटो शोमा आउने अवलोकनकर्ता भोलिका सम्भावित ग्राहक हुन् । अझ केही रकम तिरेरै गाडी बुकिङ गराउने मानिस त ग्राहक बन्ने सम्भावना धेरै भएकामै पर्छ ।
‘बुकिङ गर्ने सबैले गाडी किन्न सक्छन् भन्ने होइन, कतिको कर्जामा समस्या होला, कतिले प्रोडक्ट परिवर्तन गर्ने सम्भावना हुन्छ । त्यसैले ठ्याक्कै भन्न कठिन हुन्छ । तर, ६०/७० प्रतिशत सेल्समा परिणत गर्न सकिन्छ,’ पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले भने ।
यस्तै, अनुभव सुनाउँछन् बीवाइडीका सीईओ सहिल श्रेष्ठ । उनी भन्छन्, ‘कतिको पारिवारिक सल्लाह नमिल्न सक्छ । कतिले समयमा कर्जा पाउँछन् भन्ने कुराले सेल्समा परिणत कति हुन्छ भन्ने निर्धारण गर्छ । अघिल्ला वर्षहरूमा हामीले ७० प्रतिशतसम्म सेल्समा परिणत गर्न सफल भएका छौं ।’

आफ्नो व्यवसायलाई लिड गरेर बसेकाहरूको अनुभवको आधारमा यसपटकको कुल बुकिङको ५० प्रतिशत हाराहारी सेल्समा परिणत हुने अनुमान गर्न सकिन्छ । धेरैले एक वा एकभन्दा बढी मोडल बुकिङ गरेकाले सेल्स हुने समयमा घट्ने अनुमान छ ।


