काठमाडौं । विद्युतीय सवारीसाधनको बिक्री बढेसँगै जस्तोसुकै ब्राण्ड नेममा पनि गाडी आयात हुन थालेको छ । अटोमोवाइल ब्यवसायको ज्ञान नै नभएका मानिसहरु पनि गाडी बिक्री गर्दा नाफा धेरै कमाइन्छ भन्ने लोभले गाडीको ब्यापारमा आइरहेका छन् ।
अस्पताल, स्कुल, कलेज, उत्पादनमूलक उद्योग र ब्यवसाय गर्दै आएका मानिस तथा ब्यवसायीक घरानाहरुले अटोमोवाइल ब्यवसायलाई निकै लोभलाग्दो विजनेशका रुपमा हेरेका छन् । त्यसैले चिनियाँ जहाजबाट काठमाडौं ओर्लने ब्यवसायीलाई चीनबाट गाडी ल्याउन थाल्नु भएको हो भनेर सोध्यो भने अधिकांशको उत्तर एक दुई वटा गाडीको फ्याक्ट्री पुगेर आए, हेरौं भन्ने आउँछ ।
धेरैभन्दा धेरै ब्यवासयीक घराना अटोमोवाइल ब्यवसायमा आउनु प्रतिस्पर्धाको हिसाबले राम्रो मान्न सकिन्छ । तर, उनिहरुले दिने सेवा चुस्त बन्न सकेन भने उपभोक्ताले ठूलो आर्थिक क्षेती ब्योहोर्नु पर्ने हुन्छ । जसलाई हाम्रो विगतले पनि पुष्टि गरेको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन विगतमा जसरी हुन्डाई, एमजी, बीवाइडी र टाटाले काम गरे, त्यसको परिणाम अन्य ब्राण्डलाई पनि नेपाल प्रबेश गर्न सहज भयो । अहिले ठूला मानिने ब्राण्डकै सर्भिसमा दर्जनौ गुनासाहरु सामाजिक संजालमा छरपस्ट छन् । ती ब्राण्डले सर्भिस सेन्टर निर्माण र त्यसलाई आधुनिक प्रविधिले भरिपूर्ण पनि बनाएका छन् । करोडौं रुपैयाँ सर्भिस सेन्टर निर्माणमा खर्च गरिरहेका छन् । तर, पनि ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्न सकेका छैनन् । त्यसको मुख्य कारण सर्भिसमा दक्ष जनशक्तिको अभाव हो ।
नयाँ बजारमा आइरहेका विद्युतीय कार बिक्रेताले सर्भिस सेन्टर कहाँ बनाउँदैछन्, एकिन छैन । तर, गाडी बिक्री थाल्नै हतार भएको देखिन्छ । यसरी गाडी बिक्री गर्नेहरुले दिएको सेवा पनि हामीले विगतमा देखेकै हो । दिगो ग्रुपले ल्याएर बिक्री गरेको प्यासेन्जर कार लामो समय टिकेन । कम्पनीले कारको ब्यवसायबाट आफुलाई बाहिर निकाल्यो । अहिले ती गाडीले कस्तो सेवा पाएका होलान् ?
दाय, डेरी जस्ता ब्राण्डका गाडी पनि नेपालमा बिक्री भए । ती ब्राण्डले न सर्भिस सेन्टर बनाए, नत बिक्रीपछिको कुनै दायित्व बहन गरेका छन् ।
अहिले एक पटक फेरी विद्युतीय कार र लाइट कमर्शियल भेहिकलको ब्यापारमा हानथाप चलिरहेको छ । त्यसले समग्र विद्युतीय कारको ब्यापारलाई नै बदनाम बनाउने अवस्था आउन सक्छ ।
उपभोक्ताले पनि विद्युतीय सवारीसाधन किन्नुअघि उसको सर्भिस सेन्टर, पार्टसको उपलब्धता, ब्यवसायीक समूहको अटोमोवाइल क्षेत्रमा काम गरेको अनुभव जस्ता विषय ध्यान दिन जरुरी देखिन्छ । त्यसो हुन सकेमात्रै विद्युतीय साधन किन्दा पछुताउनु पर्दैन । अन्यथा तपाई फस्ने निश्चित जस्तै देखिन्छ ।

