हाइलक्स र स्कर्पियोको विकल्प बन्ला रेडारा

काठमाडौं । नेपालमा पीकअप ट्रक भनेकै टोयोटा हाइलक्स र महिन्द्रा स्कर्पियो धेरैले नाम लिने मोडल हुन् । नेपालको जुनसुकै पहाडी सडकमा पनि चलाउन सकिने यस्ता पीकअप ट्रक एसयूभीकै रुपमा प्रयोग हुँदै आएका छन् ।

बढ्दो विद्युतीय कारको प्रयोगसँगै पीकअप सेग्मेन्टमा पनि ईभीहरु आउन थालेका छन् । जेएसी र मेक्ससले यसअघि इलेक्ट्रीक पीकअप ल्याएपनि त्यसको बिक्री सोचेअनुरुप हुन सकेन । तर, सीजी मोटर्सले भने सुरुमै धेरै यूनिट रेडारा इलेक्ट्रीक पीकअप नेपाल ल्याएर बिक्री सुरु गरेको छ ।

चिनियाँ अटोमोवाइल जाइन्ट जिलीको रेडारा ब्राण्डको आरडी–६ पीकअप भोलिको दिनमा टोयोटा हाइलक्सदेखि महिन्द्रा स्कर्पियो र बोलेरो जस्ता पीकअपको विकल्प बन्छ वा बन्दैन अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यसको डिजाइन र पावरले भने अहिल्यै प्रतिस्पर्धा गर्न सक्छ ।

निकै प्रिमियम डिजाइन र लुक्समा तयार भएको रेडारा मल्टी प्रपस भेहिकल भन्दा फरक पर्दैन । त्यसको कारण हो, कार्गो र मानिस दुबैलाई उत्कृष्ट यात्रा गराउने क्षमता यसले राख्छ ।

तपाई अगाडिबाट यसलाई हेर्नुहुन्छ भने ठ्याक्कै बल्की एसयूभी फिल गर्न सक्नुहुन्छ । यसमा प्रयोग भएको एलइडी डीआरएल, प्रोजेक्टर हेडल्याम्प र ठूलो एयरड्यामसँगै माथि उठेको अगाडिको भागले बल्की एसयूभीको फिल दिन्छ । तर, अहिले ‘टु ह्वील ड्राइभ भर्सन’मा मात्रै नेपाली बजारमा उपलब्ध भएका कारण वास्तविक अफरोडमा लान केही कठिनाई नै हुन्छ । सीजी मोटर्सका अनुसार चाँडै यसको फोर ह्वील ड्राइभ भर्सन पनि आउने छ ।

‘जिलीको मल्टीप्लेक्स अट्याच प्लेटफर्म’मा बन्नेको पीकअपमा जीवीटी चार्जिङ पोर्ट छ । सीजीको जीवीटी चार्जर नेटवर्क बलियो भएको कारण यसमा पनि जीवीटी पोर्ट दिइएको कम्पनीले जनाएको छ ।

पीकअप भन्नासाथ ‘बडी अन फ्रेम’ विधिमा बन्छ भन्ने मान्यता पाइन्छ, तर जिलीले यसलाई मानोकर्क विधिमा तयार भएको पीकअप हो । यसमा ६३ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । रियर ह्वील ड्राइभ २०० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क भने ३८४ एनएम छ । एनइडीसीले यसको अधिकतम रेन्ज ३७७ किलोमिटर प्रमाणित गरेपनि सडकमा ३०० किलोमिटर आसपास पाउन सकिन्छ ।

तीन ड्राइभिङ मोड कम्फर्ट, ईको र स्पोर्टस् मोड दिइएको पीकअपमा सुरक्षाको लागि रिभर्स क्यामेरा, सेन्सरसहितको आधुनिक फिचरहरु छन् । यात्रा गर्दा मनोरन्ज र सुचना दुबै पाउन सकियोस् भनेर १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।

रेडारा पीकअपको पेलोड क्यापासिटी ७७५ केजी र टोइङमा २५०० केजी छ । यो पीकअप ८१५ एमएम गहिरो पानीमा गुड्न सक्छ । यसको अधिकतम स्पीड १८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

पीकअपको लम्बाई ५२६० एमएम, चौडाई १९०० एमएम र १८६५ उचाई रहेको छ । यो ईभीमा ३१२० एमएमको ह्वीलबेस रहेको छ । यसमा २२५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top