काठमाडौं । चेरी ग्रुपको इलेक्ट्रीक ब्राण्ड ओमोडा/जेको नेपाल आएको धेरै भएको छैन । नेपालमा बिक्री सुरु भएको छोटो समयमा नै जेको जे-६ ले अलगै पहिचान बनाएको छ ।
उसोत बजारमा चिनियाँ विद्युतीय कारमा तिब्र प्रतिस्पर्धा सुरु भइसकेको छ । दर्जनौ ब्राण्डले उस्तै मूल्य र फिचर भएका कारहरु ल्याउन थालेसँगै प्रतिस्पर्धा पनि कडा देखिन्छ । तिब्र प्रतिस्पर्धी बजारमा पनि जे-६ प्रतिस्पर्धी विहिन मोडल भएको छ ।
विगतमा पनि लाइफ स्टाइल प्रोडक्टले हाम्रो बजारमा राम्रो चर्चा पाउँदै आएको हो । अहिले पनि लाइफ स्टाइल प्रोडक्ट भनेपछि हुरुक्कै हुने ठूलो जमात छ । चाहे त्यो जीप र्याङलर हाेस् वा महिन्द्रा थार होस् वा सुजुकी जिम्नी नै किन नहोस् यो सेग्मेन्टका गाडीले अलग पहिचान बनाउन सफल भएका थिए ।
यहि सेग्मेन्टमा उपलब्ध भएको कारण जे-६ ले छोटो समयमा अलग पहिचान बनाउन सफल भएको हो । तथापि, माथि उल्लेख भएका जिम्नी वा थार जस्तो यो फोर ह्वील ड्राइभ मोडल होइन । विद्युतीय हुनु र यसमा रहेका खास फिचरको कारण पनि यो गाडी चर्चित बनेको हो ।
१. बडी डिजाइनः

बक्सी डिजाइन र आक्रमक लुक्स जे-६ को सफलतामा पहिलो कारण हो । क्रसओभर मोडल मात्रै इलेक्ट्रीकमा उपलब्ध रहेको समयमा प्योर अफरोड एसयूभीको लुक्समा आएको कारण जे-६ ले धेरैको ध्यान खिच्न सफल भएको हो ।
२. ग्राउन्ड क्लियरेन्सः

अफरोड एसयूभीको लुक्समा आएको कारण यसको ग्राउन्ड क्लियरेन्स उच्च हुनु स्वभाविक हो । तर, चिनियाँ ईभीमा औषत १७५ एमएम हाराहारीको ग्राउन्ड क्लियरेन्स धेरैले प्रयोग गरेका कारण जे-६मा रहेको २०० एमएम ग्राउन्ड क्लियरेन्सले धेरैलाई तानेको हो ।
३. मूल्यः
जे-६ अहिले रियर ह्वील ड्राइभमा मात्रै उपलब्ध छ । गाडीको साइज अनुसार ६९ लाख ९० हजार मूल्य तोकेर बिक्री सुरु गरेपनि अहिले ६७ लाख ९० हजारमा दिदै आएको छ ।

४. रेन्जः
जेकोले यसमा ६५.६९ किलोवाट आवरको ब्याट्री दिएको छ । ठूलो गाडी भएर पनि यसले सिंगल चार्जमा ४०० किलोमिटर माथि रेन्ज दिइरहेको छ । त्यही रेन्जको कारण पनि धेरै आकर्षित भएका छन् ।
५. यूनिक लाइटः

यसमा सबै लाइट एलइडी प्रयोग भएको छ । त्यसमा पनि सबै लाइटलाई आई आकारमा डिजाइन गरिएको कारण धेरैले मन पराएका छन् ।
६. पावरफुल मोटरः
जेको जे-६ मोडलमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । जुन हाम्रो सडकको लागि उत्कृष्ट हाे ।


