काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४८ औं साधारण सभाको उद्घाटन सत्रमा विद्युतीय साधनका विषयमा खुबै चर्चा भयो । आफ्नो स्वागत मन्तब्य राख्दा अध्यक्ष करण चौधरीदेखि प्रमुख अतिथिको मन्दब्य राख्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालसम्मले ईभीको विषयमा चर्चा गरे ।
संसारभर चर्चामा रहेको न्यू इनर्जी भेहिकलको विषयमा प्रमुख अतिथिले ईभी अन्तिम विकल्प नभएको बताए । उनले भने, ‘विद्युतीय गाडीको भविष्य एकिन नभएपनि सरकारले पूर्वाधारमा काम गरिरहेको छ । अहिले विद्युतीय गाडीमा भएका ब्याट्रीको विषय चलिरहेको छ । सर्भिसमा पनि समस्या छन् भन्ने बुझेको छु । तर, यी र यस्ता समस्याको निकास तपाईहरुले निकाल्नु पर्छ ।’
नाडा अध्यक्ष करण चौधरीले विद्युतीय साधनलाई गिजोल्ने काम भइरहेको बताउँदै भने, ‘हामी विद्युतीय सवारी साधन यहीँ परीक्षण गर्न सक्छौं । हामीले गर्ने परीक्षणलाई सरकारले मान्यता दिने कानुनी आधार तयार पार्नुपर्छ ।’
चार पाङ्ग्रे साधनमा ईभीको प्रयोग बढ्दै गएको भएपनि दुई पाङ्ग्रेमा विद्युतीकरण नभएको चौधरीले बताए । नेपाल बिद्युत प्राधिकरणले चार्जिङ स्टेशन थप गर्ने योजना अगाडि नबढाउँदा आउने दिनमा ईभीको भविष्यमा नै प्रश्न उठेको अध्यक्ष चौधरीको दावी थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजश्वमा सबैभन्दा धेरै सहयोग गर्ने क्षेत्रको व्यवस्थापनमा सरकारले ठोस काम गर्न नसकेको बताए ।
‘राजश्वमा २० प्रतिशत हाराहारी हिस्सा ओगटेको अटोमोवाइल क्षेत्रलाई थप बलियो बनाउन नीतिगत सहयोग र पूर्वाधार विकासमा सरकारले ध्यान दिनु पर्छ’, अध्यक्ष ढकालले भने ।


