रोयल इनफिल्डको क्लासिक ६५० सार्वजनिक, तीन भेरियन्टमा उपलब्ध

काठमाडौं । रोयल इनफिल्डको क्लासिक ६५० मोटरसाइकल भारतमा सार्वजनिक भएको छ ।

कम्पनीले पहिलो पटक इक्मा अटो शो २०२४ मा प्रदर्शन गरेको नयाँ रोयल इनफिल्ड क्लासिक ६५० भारतीय बजारमा बिहीबार सार्वजनिक गरेको हो ।

कम्पनीले क्लासिक ६५० मोटरसाइकल हटरोड, क्लासिक र क्रोम गरी तीन भेरियन्टमा सार्वजनिक गरेको छ ।

आइकोनिक रेट्रो स्टाइलमा उपलब्ध भएको क्लासिक ६५० मा राउन्ड एलईडी हेडलाइट, पूरा एलइडी लाइट, क्रोम हेडलाइट रिङ, क्रोम इलेमेन्टस्हरु, राउन्ड इन्डिकेटर, राउन्ड मिरर, फेन्डर, फोर्क कभर, स्पोक ह्वील र सिग्नेचर टाइगर आई पाइलट लाइटहरू पाउन सकिन्छ ।

त्यस्तै, यसमा टियरड्रप आकारको फ्युल ट्याङ्क रहेको छ भने इन्धन ट्याङ्कीमा सामान्य रोयल एनफिल्डको २ डी लोगो रहेको छ । सिंगल पिस सिट, वायर स्पोक ह्वील र पिसुटर डबल ब्यारल एग्जस्ट दिइएको छ ।

अन्य रोयल इन्फिल्ड मोटरसाइकहरू निर्माण भएकै प्लेटफर्ममा आधारीत क्लासिक ६५० मा थोरै ट्वीक गरिएको ६४८ सीसीको एयर र आयल कुल्ड, प्यारालल ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ४७ पीएस पावर तथा ५२.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स उपलब्ध छ ।

कम्पनीले क्लासिक ६५० मा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । जसमा स्पीडोमिटर, ओडोमिटर, फ्युल गेज, नेभिगेसन, ब्लुटूथ कनेक्ट डिटेल्स र अन्य जानकारीहरू देखाउँछ । यसमा ट्रिपर नेभिगेसन पोड, युएसबी चार्जिङ पोर्ट र टर्न बाई टर्न नेभिगेसन पनि छ ।

क्लासिक ६५० रोयल एनफिल्ड सुपर मेटियर ६५० जस्तै स्टिल ट्युब्लर फ्रेममा निर्माण भएको हो । यसमा १२० एमएमको ट्राभल ट्वीन रियर सक र ४३ एमएमको टेलिस्कोपिक फर्क दिइएको छ। ब्रेकिङ सेटअपमा अगाडि र पछाडि नै डिस्कब्रेकका साथै डुअल च्यानल एबीएस पाउन सकिन्छ ।

२४३ किलोग्राम तौल भएको क्लासिक ६५० अहिलेसम्मको सबैभन्दा भारी रोयल एनफिल्ड मोटरसाइकल हो । भारतीय बजारमा क्लासिक ६५० हटरोड भेरियन्टको ३ लाख ३७ हजार, क्लासिक भेरियन्टको ३ लाख ४१ हजार र क्रोम भेरियन्टको ३ लाख ५० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेर बुकिङ खुलाइएको छ ।


Back_to_top