काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा अटो महाकुम्भ मेला नाइमा मोबिलिटी एक्स्पो जारी छन् । ५५ ब्राण्डले सहभागिता जनाएको एक्स्पोमा ५२ बढी नयाँ मोडल लन्च भइसकेको छन् ।
एक्स्पोमा साढे २ लाखदेखि ३ करोड मूल्यमा दुई र चारपाँग्रे सवारी साधन प्रदर्शनीमा राखिएको छ । मुख्यगरी अवलोककर्ता सस्ता र मध्यम मूल्यका कारमा तथा नयाँ मोटरसाइकल र स्कुटरमा आकर्षित भएको देखिन्छ ।
नेपालमा मोबिलिटीको प्रमुख साधन नै दुईपाँग्रे सवारी हुन् । देशभर ६३ लाख सवारी दर्ता हुँदा ८० प्रतिशत हिस्सा मोटरसाइकल स्कुटरको रहेको छ ।
अहिले मोटरसाइकल केवल आवतजावतको साधन मात्र नभइ प्रिमियम र पर्फर्मेन्सका लागि लाखौँ रुपैयाँ खर्च गर्ने ग्राहकको रोजाइ पनि बन्न थालेका छन् ।
सामान्यतया ३० देखि ५० लाख रुपैयाँ मूल्यका कार र १० लाख मुनिका मोटरसाइकल ग्राहकको रोजाइमा परेको देखिन्छ । नाइमामा बजेट फ्रेण्डली मात्र होइन, केही प्रिमियम महँगा मोटरसाइकल पनि राखिएको छ । जसको मूल्य साधारण खालका कारकोभन्दा पनि धेरै छ । जसले ग्राहको ध्यान खिचिरहेको छ । यहाँ हामीले नाइमामा रहेका कारभन्दा महँगा अर्थात् ३८ लाख बढी मूल्य पर्ने दुई मोटरसाइकलको बारेका चर्चा गरेका छौं ।
मोर्बिडेली टी १००० भीएक्स
यो नाइमा एक्स्पोको सबैभन्दा महँगो मोटरसाइकल हो । वैद्य अर्गनाइजेसनले बिक्री गर्ने यो मोटरसाइकलको मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ रहेका छन् । जुन नाइमामा उपलब्ध डेढ दर्जन बढी कारभन्दा पनि महँगो हो ।

यो मोटरसाइकलमा ९९७ सीसी भी ट्वीन ८ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८८.५ हर्षपावर र ८९ एनएम टर्क उत्पादन गर्छ । ठुलो क्षमता भएता पनि टुरर मोटरसाइकल भएकाले यसको पावर अलि कम भएको हो ।
यसमा हाई ट्राभल सस्पेन्सन सेटअप, कनेक्ट सिस्टम, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, राइड मोडहरू लगायतका फिचरहरू छन् । मोर्बिडेली इटालीको विश्व चर्चित ब्राण्ड हो । यसका मोटरसाइकल विशेष डिजाइन, शक्तिशाली इन्जिन र ऐतिहासिक रेसिङ विरासतका लागि प्रख्यात मानिन्छ । मोर्बिडेली टी १००० भीएक्सले पनि आफ्नो आकर्षक डिजाइनले दर्शक तानिरहेको छ ।
जेडएक्स मोटो ८०० आरआर
चिनियाँ ब्राण्ड जेडएक्स मोटो ८०० आरआर पनि कारभन्दा महँगो मोटरसाइकल हो । रेसिङलाई लक्षित गरी निर्माण गरिएको यो मोटरसाइकलको आधिकारिक मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । तर, कम्पनीले नाइमा अफर अन्तर्गत ६ लाख रुपैयाँ छुट दिँदै ३८ लाखमै उपलब्ध गराउने भएको छ ।
जेडएक्स मोटो ८०० आरआर २०२६ को वल्र्ड सुपर बाइक रेसिङ च्याम्पियनसिप जित्ने पहिलो चाइनीज मोटरसाइकल हो । सोही मोडल अहिले नाइमामा बिक्रीका लागि उपलब्ध भएको हो । यसले २०२६ वल्र्ड सुपर बाइक रेसिङ च्याम्पियनसिपमा बीएमडब्लू, डुकाटी, यामाहा लगायतका सुपर बाइकलाई ४ सेकण्डभन्दा बढी समयले पछि पार्दै रेस जितेको थियो ।

जेडएक्स मोटो ८०० आरआरमा ८१९ सीसीको इनलाइन थ्री सिलिण्डर इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १५३.६ पीएस पावर तथा ८५ एनएम टर्क जेनेरेट गर्छ । २९९ किलोमिटर प्रितिघण्टाको टप स्पीड रहेको यो मोटरसाइकलले ० देखि १०० मात्रै २.८ सेकेन्डमा पुरा गर्छ ।
मोटरसाइकलको सबै भन्दा ठूलो विशेषता भनेको पावर टू वेट रेसियो हो । यसको कुल तौल १६८ किलोग्राम छ । यसमा पाइने सबै फिचरहरू रेसिङ पे्ररित छन् । जेडएक्स मोटो नामले मात्रै चिनियाँ मोटरसाइकल ब्राण्ड होइन । यो रेसिङ ट्र्याकदेखि सडकसम्म आएको पर्फमेन्स मेसिन हो ।
रेसिङबाट विकसित प्रविधि, उच्च पर्फर्मेन्स, आकर्षक रेसिङ डिजाइन र प्रिमियम निर्माणलाई केन्द्रमा राखिएर उत्पादन भएकाले यो मोटरसाइकलले एक्सपोमा आउने दर्शकको ध्यान तानेको छ ।
३८ लाख रुपैयाँ बढीमा ठिकै खालका कार किन्न सकिने भए पनि पर्फर्मेन्स, ब्राण्ड भ्यालु र प्रिमियम अनुभव खोज्ने ग्राहकलाई लक्षित गर्दै यी मोटरसाइकल राखिएको हो ।


