एजेन्सी । सन् २०२५ को पहिलो त्रैमासमा जर्मनमा टेस्लाको बिक्रीमा पहिरो गएको छ । कम्पनीले ३ महिना (जनवरी-मार्च) मै बिक्री ६२ प्रतिशतले गुमाएको हो ।
टेस्लाले जर्मनीमा विगत तीन महिनामा केबल ४ हजार ९३५ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६२.२० प्रतिशतले कम भएको हो ।
अमेरिकी ब्राण्ड टेस्लाका सीईओ इलन मस्क शासन सत्तामा प्रवेश गरेसँगै विश्वभर अमेरिकी सरकारले लिएको नीतिमाथि विरोध हुँदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष सहयोगीको रूपमा रहेका मस्क माथि अमेरिकासँगै पूरै युरोपमा रोष प्रकट भइरहेको छ ।
राजनीतिक निसानामा परेका इलन मस्कले आफ्नो सम्पत्ति पनि गुमाउँदै गएका छन् । ट्रम्पले राष्ट्रपति निर्वाचन जितेको केही दिनमै करिब ५०० अर्ब डलर पुगेको उनको नेटवर्थ अहिले घटेर २९० अर्ब डलरमा झरेको छ । पूरै युरोपमा आएको व्यापार गिरावटले पनि मस्कको सम्पत्ति घटाउन सहयोग पुगेको हो ।


