धोबीखोला कोरिडोर निर्माण २ दशकमा आधा काम, बाँकी दुई वर्षमा होला पूरा ?

काठमाडौं । धोबीखोला कोरिडोर निर्माण २ दशकमा पुरा हुनैलाग्दा समेत सम्पन्न हुन सकिरहेको छैन । हाल धोबीखोला कोरिडोर अन्तर्गत लगभग ११ किलोमिटर सडक मात्र निर्माण पुरा भएको छ । उक्त कोरिडोर अन्तर्गत १३ किलोमिटर सडक निर्माण अझै हुन बाँकी रहेको छ । 

बुढानिलकण्ठको राम मन्दिरदेखि बागमती दोभानसम्म दुबै तर्फ १२÷१२ किलोमिटर गरेर २४ किलोमिटर सडक खण्डमा धोबीखोला कोरिडोर निर्माण भइरहेको हो । 

काठमाडौं उपत्यका  विकास प्राधिकरणले जिम्मा लिएको सो कोरिडोरको निर्माण सम्पन्न हुन अझै २ वर्ष लाग्ने प्राधिकरणका आयोजना प्रमुख दिलिप भण्डारीले बताए । 

धोबीखोला कोरिडोर निर्माण प्रकृया सुरु भएको १९ वर्ष भइसकेको छ । काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोबीखोला करिडोरकाे २०५६ सालबाट निर्माण प्रक्रिया अगाडि सारिएको हो ।

‘यो कोरिडोर २०७६÷७७ सालसम्म सकिनुपर्ने हो तर, बागमती सभ्यताले ढल हाल्न समय लगाएकाले हामीले केही गर्न सकेका छैनौँ,’ भण्डारीले मेरोअटोसँग भने ।

उनले धोबीखोला करिडोर निर्माण २०७७÷७८ सालको अन्तसम्ममा सम्पन्न हुने दाबी गरे । 

यो वर्ष धोबीखोला कारिडोरका लागि ४८ करोड रुपैयाँ बजेट छुटाइएको थियो भने त्यस मध्ये ९ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जानकारी दिएको छ । 

हाल धोबीखोला कोरिडोरको काम अनामनगरदेखि निर्माण हुँदै गोपिकृष्ण सिनेमा हलसम्म पुगेको हो । 

आयोजना प्रमुख भण्डारीका अनुसार हाल गोपिकृष्णबाट कपनसम्मको क्षेत्रमा कोरिडोर निर्माणको काम अगाडि बढिरहेको  छ । 

‘कपनसम्म कोरिडोर निर्माणको काम यही चालु आर्थिक वर्ष २०७५–०७६मा सकिन्छ, राममन्दिरसम्म नै पुराउन भने ढिलो हुनसक्छ,’ भण्डारीले भने । 

उनका अनुसार धोबीखोला कोरिडोर आगामी आर्थिक वर्ष २०७६÷७७ सालसम्ममा सम्पन्न हुनुपर्ने हो । तर, बागमती सभ्यताले समयमा ढल हाल्ने काम पुरा नगर्दा र प्राधिकरणसँग समन्वयन नहुँदा कोरिडोरको काम ढिला भइरहेको उनले बताए । 

‘बागमती सभ्यताले ढल निर्माण गर्दैछ, त्यस विषयमा हामीसँग केही कुरा सल्लाह भएको छैन, उनीहरुले हामीसँग छलफल नगर्दा ढल निर्माण सम्पन्न नभई सडक निर्माण गर्न गाह्रो भएको हो,’ भण्डारीले भने । 

कपनसम्म कोरिडोर निर्माण गत वर्षकै ठेक्का हो । यो अझैसम्म पनि पुरा हुन सकेको छैन । प्राधिकरणले कपनसम्मको कोरिडोर यही चालु आर्थिक वर्षसम्म सम्पन्न गर्ने जानकारी दिएको छ ।  

यस्तै उपत्यका विकास प्राधिकरणका सहरी योजनाकार भागवत खोखालीका अनुसार अनामनगर देखि गोपीकृष्णसम्म कोरिडोर निर्माण हुने काम सकिसकेको छ । 

सडक कालोपत्रे हुने काम सकिए पनि पुलको मुखमा भने पिच गर्न बाँकी रहेको छ । 

‘सबै तिर पुलमुनीको काम मात्र बाँकी रहेको हो, अन्य सडकमा पर्खाल, रेलीङ, फुटपाथलगायत बनाउने काम भइसकेको छ,’ खोखालीले भने । 

उनले अनामनगरको बाटोमा पुल मुनी ठाउँ साँघुरो भएकोले त्यसमा विवाद भएको बताएका छन् । 

अनामनगर सडक चौडाई नपुगेको र पुलको मुखमा ठूलो सडक चाहिने भएकाले त्यसमा विवाद भइरहेको हो । 

‘त्यहाँ सडक काही छोडेको छैन, सडक ठूलो नबनाए गाडी पुलमा जान सक्दैन,’ खोखालीले भने । 

हाल धोबीखोला कोरिडोर अन्तर्गत अनामनगरदेखि गोपीकृष्णसम्म दुबैतर्फ पिच भई सडक निर्माण भइसकेको उनले बताए । 

धोबीखोला कोरिडोरको ९० प्रतिशत काम भइसकेको उनले दाबी गरे । तर, अझै १३ किलोमिटर सडक निर्माण गर्नुपर्ने भएकाले उनको दाबीलाई पत्याइहाल्ने अवस्था भने छैन । 

धोबीखोला कोरिडोर निर्माण प्रकृया सुरु भएको १९ वर्ष भइसकेको छ । काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोबीखोला करिडोरलाई २०५६ सालबाट निर्माण प्रक्रिया अगाडि सारिएको हो । महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्राजेक्टबाट यो कोरिडोर सुधार आयोजना सुरु भएको थियो ।

तर, त्यसमार्फत राम्रो काम नभएपछि २०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लिएको थियो । अहिले उपत्यका विकास प्राधिकरणलाई दिइएको छ ।


Back_to_top