काठमाडौं । कोरियाली अटो जाईन्ट कम्पनी हुन्डाईले भारतीय बजारमा प्रवेश गरेसँगै पहिलो मोडलको रुपमा ल्याएको फ्यामली कार हो हुन्डाई सेन्ट्रो ।
सन् १९९८ सेप्टेम्बर २३ बाट भारतीय बजारमा प्रवेश गरेको हुन्डाईको इन्ट्री लेभल मोडल सेन्ट्रो धेरै पटक परिमार्जन भैसकेको छ ।
टल ह्याचब्याक मोडल, ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेडरेस्ट्रेन्सजस्ता विशेषताले सेन्ट्रो भारतीय बजारमा निकै चर्चीत बनेको थियो ।
नेपाली बजारमा पनि मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा परेको यो कार अझै निकै बाक्लोरुपमा सडकमा गुडिरहेको पाउन सकिन्छ ।
पुरानो सेन्ट्रो संसारभर १८ लाख ५० हजार युनिट बिक्री भएको थियो । सन् २०१४ बाट उत्पादन बन्द भएको यो मोडललाई कम्पनीले अल न्यू डिजाइनमा पुनः २०१८ अक्टोबर २३ मा सार्वजनिक गरेको थियो ।
हुन्डाईको नेपालको लागि आधिकारी वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले फेब्रुवरी १४ अर्थात् फागुन २ गते नेपाली बजारमा यसलाई सार्वजनिक गर्दैछ । लक्ष्मी हुन्डाई र हुन्डाई मोटरको सहकार्यको १० वर्षको अवसरमा कम्पनीले नेपाली बजारमा आफ्नो चर्चित मोडल सेन्ट्रो सार्वजनिक गर्न लागेको हो ।
फागुन २ बाट नेपाली बजारमा आधिकारी बिक्री सुरु हुने सेन्ट्रोका विशेषताका बारेमा हामीले केही जानकारी दिने प्रयास गरेका छौं ।
डिजाइन
हुन्डाईको नयाँ सेन्ट्रोमा अल न्यू डिजाइन थेम प्रयोग गरिएको छ । यो कार ग्रान्ड आई–१० बाट प्रेरित छ भने, यसमा स्वेप्ट ब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको छ ।
नयाँ सेन्ट्रोमा पनि कम्पनीले आफ्नो पुरानो टल बोय थेमलाई नै निरन्तरता दिएको छ । यसको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिइएको छ भने, लो भेरियन्टमा १३ इन्च ह्वील दिइएको छ । यसको एक्सटेरियर डिजाइन निकै नै आकर्षक रहेको छ ।
सेग्मेन्ट फर्स्ट सेफ्टी फिचर
कम्पनीले नयाँ सेन्ट्रोमा धेरै फिचरहरु प्रदान गरेको छ । नयाँ सेन्ट्रोमा ७ इन्च टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, रिभर्स क्यामेरा, रियर एसी भेन्टलगायतका फिचरहरु उपलब्ध छन् ।
यस्तै, नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । यसको टप भेरिएन्टमा डियुल एयरब्याग, लोड लिमिटर, स्पीड–सेन्सीङ डोर लक लगायतका फिचरहरु रहेका छन् ।
डाइमेन्सन तथा प्लेटफर्म
नयाँ सेन्ट्रोलाई कम्पनीले ‘के१’ प्लेटफर्ममा निर्माण गरेको हो । जुन कम्पनीले ग्रान्ड आई–१०को बीए प्लेटफर्मबाट ल्याएको हो । कम्पनीले गाडीलाई बलियो बनाउन ६३ प्रतिशत हाईस्ट्रेन्थ स्टिलको प्रयोग गरेको जनाएको छ ।
यो ह्याचब्याकको लम्बाई ३६१० एमएम, चौडाई १६४५ एमएम उचाई १५६० एमएम रहेको छ भने, यसको ह्वीलबेस २४०० एमएम रहेको छ । सेन्ट्रोमा फ्रन्ट र रियर दुवैतिर उत्कृष्ट इन्टेरियर दिनुका साथै २३५ लिटरको बुट स्पेस दिइएको छ । यसमा फ्यूल ट्यांक क्यापासीटी ३५ लिटर रहेको छ ।
इन्जिन
नयाँ सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ । हुन्डाईले सेन्ट्रोलाई पहिलोपटक एएमटी ट्रान्समीसनमासमेत ल्याएको छ ।
मूल्य
कम्पनीले हुन्डाई सेन्ट्रोको तीन भेरियन्ट म्याग्ना, स्पोट्ज र आस्टा नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा हुन्डाई म्याग्नाको मूल्य २४ लाख ९६ हजार, स्पोर्ट्जको २६ लाख ९६ हजार,आस्टाको २९ लाख ९६ हजार भने म्याग्ना अटोमेटीक भर्सनको मूल्य २८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

