महिन्द्राको बहुप्रतिक्षीत एसयूभी ‘एक्सयूभी–३००’ भारतीय बजारमा आज सार्वजनिक भएको छ । महिन्द्राको पहिलो कम्प्याक एसयूभी भएकाले यो निकै चर्चामा रहेको थियो ।
यसको भारतीय बजारमा सुरुवाति मूल्य ७ लाख ९० हजारदेखि ११ लाख ९९ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ । कम्पनीले यसलाई डिजेलमा र पेट्रोलमा चार चार भेरियन्टमा बजारमा उतारेको हो ।
कम्पनीको एक्सयूभी–३०० डिजेल भेरियन्टमा डब्ल्यु–४, डब्ल्यु–६, डब्ल्यु–८ र डब्ल्यु–८ (अप्शनल) रहेको छ भने, पेट्रोल भेरीयन्टपनि डब्ल्यु–४, डब्ल्यु–६, डब्ल्यु–८ र डब्ल्यु–८ (अप्शनल) रहेको छ ।
कोरियन मोटर कम्पनी स्याङ्योङ्को कम्प्याक एसयूभी टिभोलीमा आधारित ‘एक्सयूभी–३००’ अपेक्षित मोडलको रुपमा लिइन्छ । यो सेग्मेन्टमा टाटा नेक्सन, फोर्ड ईकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा साथै हुन्डाई क्रेटा र निशान किक्सको बेस भेरियन्टलाई कडा टक्कर दिने देखिएको छ ।
अहिले कम्पनीले यसलाई म्यानुयल ट्रान्समिशन मात्रै उपलब्ध गराएको छ भने अबको एक महिना भित्र अटोमेटीक गियरमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एक्सयूभी–३०० मा आकर्षक सनरुफ, एलईडी डेटाइम रनिङ्ग लाईट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् ।
यसमा सेग्मेन्ट फर्स्ट सेफ्टी फिचर अन्तर्गत सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषता दिइएको छ ।

यसमा रहेको १.५ लिटर फोर–सिलिन्डर डिजेल इन्जिनले ११७ बीएचपी पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ भने १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० बीएचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।

महिन्द्राले आफ्नो नयाँ एसयूभीलाई आगामी फागुन १० गते नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । यसको नेपाली बजारमा अनुमानीत सुरुवाति मूल्य ३८ लाख हुने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इन्कर्पोरेटले यसलाई सार्वजनिक गर्ने तयारी गरेको हो ।

