रेनो क्विडको इलेक्ट्रीक मोडल परिक्षणमा

फ्रान्सेली कार उत्पादक कम्पनी रेनोले आफ्नो ह्याचब्याक कार क्विडको इलेक्ट्रीक मोडललाई सडक परिक्षण गरिरहेको छ । कम्पनीले आफ्नो सबैभन्दा सस्तोकारको रुपमा बिक्री वितरण गर्दै आएको क्विडको इलेक्ट्रीक मोडल अहिले चर्चामा रहेको छ । 

कम्पनीले चाइनिज पाटर्नर डोङफिङ मोटर्ससँग मिलेर इलेक्ट्रीक सवारीसाधन निर्माण गरिरहेको हाे । यी दुई कम्पनी मिलेर अहिले ई–जिटी न्यू इनर्जी अटोमोटिभ नामक कम्पनी खोलेका छन् । यही कम्पनीले रेनो क्विडको इलेक्ट्रीक मोडल तयार गरिरहेको छ ।

चिनियाँ सडकमा परिक्षण भइरहेको यो कारलाई रेनोले चिनियाँ बजारबाटै बिक्री सुरु गर्ने जनाएको छ । चिनियाँ बजारपछि कम्पनीको रोजाईमा दक्षिण एसियाली बजार पर्ने छ । 

कम्पनीले यसमा प्रयोग भएको मोटर, पावरलगायत अन्य विषयमा भने कुनै जानकारी बाहिर ल्याएको छैन । 

यद्यपी क्विडको इलेक्ट्रीक मोडलमा टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, रियर एसी भेन्ट्स, रियर भ्यु क्यामेरा, अटोमेटिक एसीजस्ता प्रिमियम फिचर्स उपलब्ध हुने अनुमान गरिएको छ । 

बिभिन्न एजेन्सी रिपोर्टका अनुसार यसले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्नेछ । यसलाई कम्पनीले निकै सस्तो मूल्यमा बजारमा उतार्ने तयारी गरिरहेको बताइएको छ ।

नयाँ इलेक्ट्रीक क्विड सन् २०२० को पहिलो क्वाटरबाट बिक्री वितरण सुरु हुनेछ । नेपाली बजारमा पनि रेनोका उत्पादन बिक्री वितरण हुँदै आएकाले क्विडको इलेक्ट्रीक मोडल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top