नेपाल आयो १४ लाख पर्ने नयाँ इलेक्ट्रीक कार, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रीक कार ‘दाय इभी’ भित्रिएको छ । नेपाली बजारमा उक्त इलेक्ट्रीक कार दिगो ग्रुपले ल्याएको हो । 

चीनमा उत्पादन भएका दाय ब्रान्डका इभी नेपाली बजारमा दुई ब्याट्री अप्शनको साथ आएको कम्पनीले जनाएको छ । 

‘अहिले हामीले कम स्पीड भएको भेरियन्टमात्र भगाएका छौं । यसमा दुई ब्याट्री अप्शन दिइएको छ, विगत चार पाँच महिनादेखि यसमा वर्कआउट भइरहेको थियो । अहिले, टेस्ट ड्राइभ र बुकिंग सुरु गरेका छौं’ कम्पनीका बिजनेश डेभलपमेन्ट हेड मुकुन्द शाहले मेरोअटोसंग भने । 

लिड एसिड ब्याट्री र लिथीयम आयन ब्याट्रीका साथ आएको यो कारले १ सय देखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा दिइएको लिड एसिड ब्याट्रीले एक पटकको फुल चार्जमा १०० देखि १ सय २० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ भने, लिथीयम आयन ब्याट्रीले १ सय २० देखि १ सय ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी गरेको छ । 

लिड एसिड ब्याट्री जडित कारको सुरुवाती मूल्य १३ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने, लिथीयम आयन ब्याट्रीयुक्त गाडीको मूल्य १५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 

यस कारको अधिकतम गति ६० किलोमिटर प्रतिघन्टा रहेको छ  । यसमा दश किलोवाट पिक आवरको मोटर प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ । 

यसमा दिइएको ब्याट्रीहरु चार्ज गर्न ४ देखि १० घन्टासम्म लाग्ने कम्पनीले जनाएको छ । जसमा लिड एसिड ब्याट्रीलाई घरमा सामान्य एसी चार्जरबाट चार्ज गर्दा  ८ देखि  १० घन्टा लाग्नेछ भने, लिथीयम आयन ब्याट्री चार्ज गर्न ४ देखि ५ घन्टा लाग्ने कम्पनीले जानकारी दिएको छ । साथै, गाडिमा मनोरञ्जनका लागि इन्फोटेनमेन्ट सिस्टमको व्यवस्था गरिएको छ । 


Back_to_top