काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा हाइब्रिड (इन्धन र विद्युत् दुवैबाट चल्ने) सवारी साधनको आयात दोब्बरभन्दा धेरैले बढेको छ ।
सरकारले हाइब्रिड सवारीमा कम्बस्चनको जत्तिकै कर लगाउँदा पनि उपभोक्ता भने क्रमशः हाइब्रिडप्रति आकर्षित हुन थालेका हुन् ।
भन्सार विभागका अनुसार गत आवमा ३६ करोड ६८ लाख रुपैयाँ बराबरको ८५ युनिट हाइब्रिड सवारी साधन आयात भएको छ । यो अघिल्लो आवको तुलनामा १३३.३३ प्रतिशत धेरै हो । अघिल्लो आव २०८०/८१ मा कुल ३६ युनिट हाइब्रिड सवारी साधन आयात भएको थियो ।
गत आवमा हाइब्रिड सवारी आयात बापत सरकारले ८९ करोड ४५ लाख रुपैयाँ राजस्व पाएको छ ।
हाल नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी)को वर्चश्व रहेको । विद्युतीय सवारीमा भने छुट दिइएको छ । तर, नेपालमा हाइब्रिड गाडीमा कम्बस्चन सवारीकै दरमा कर लाइन्छ । सोही कारण हाइब्रिड गाडी महँगो पर्ने गरेका छन् ।
विश्व बजारमा हाइब्रिडको माग रफ्तारमा बढ्दा नेपाल सरकारले भने अझै निरुत्साहित गर्दै आएको छ । नेपालको भौगोलिक अवस्था अनुसार हाइब्रिड गाडी उपयुक्त देखिए पनि सरकारले अझै प्रोत्साहन नीति लिएको छैन । हाइब्रिड सवारीमा हाल कुल २५८ प्रतिशतसम्म कर लाग्छ ।


