मासिक २१ हजार किस्तामा पाइने कार, रेन्ज ३०० किमी

काठमाडौं । मासिक २१ हजार रुपैयाँ किस्ता तिर्नेगरी किन्न पाइने विद्युतीय कारले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । एस क्युब इन्टरनेशनलले नेपाल ल्याएको हेनरी भोल्टको अपडेटेड मोडल बिक्री सुरू हुने भएको हो ।

कम्पनीले नयाँ मोडलको नामको पछाडि ‘सी प्रो’ दिएको छ । यसलाई साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनी गर्ने कम्पनीको तयारी छ । यहीँबाट बुकिङ समेत खुला गर्ने तयारी गरिरहेको कम्पनीको भनाइ छ ।

‘हामीले हेनरी भोल्टको अपग्रेड मोडल सी प्रो बिक्री सुरू गर्दैछौं । पहिलेकै हेनरी भोल्टमा ब्याट्री साइज बढेर आएको छ । साथै, पहिलो पटक हाम्रो गाडीले डीसी फास्ट चार्जर सपोर्ट गर्ने भएको छ,’ एस क्युब इन्टरनेशनलका प्रबन्ध निर्देशक श्याम सापकोटाले मेरोअटोसँग भने ।

उनका अनुसार अन्तिम मूल्य बाहिर आएको छैन । तर, पनि २३ लाख रुपैयाँभन्दा कम हुनेछ । यदि, यसको मूल्य २३ लाखभन्दा केही बजार कम भएमा पनि मासिक किस्तामा ठूलो परिवर्तन हुँदैन । अहिले ७.५ प्रतिशत ब्याजदरमै गाडी किन्न कर्जा पाइन्छ । यसरी लिने कर्जा ७ वर्ष अवधिको हुनेछ । राष्ट्र बैंकको निमानुसार गाडी किन्नेले मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी ६० प्रतिशत रकम कर्जा लिन पाइन्छ ।

कम्पनीले २३ लाखभन्दा केही कम भनेको कारण यहाँ हामीले मासिक किस्ता २३ लाख रुपैयाँलाई नै आधार मानेर गणना गरेका छौं । यसलाई किन्ने ग्राहकले ९ लाख २० हजार रुपैयाँ डाउन पेमेन्ट बापत राख्नु पर्छ । बाँकी १३ लाख ८० हजार रुपैयाँ कर्जा लिन सकिन्छ । यसरी लिएको कर्जा ८४ किस्तामा तिर्दा मासिक २१ हजार १६७ रुपैयाँ तिर्नुपर्छ ।

के-के छ कारमा ?

नयाँ मोडल सी प्रोमा २५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जुन यसअघि बिक्री हुँदै आएको भोल्ट एच मोडलभन्दा झण्डै ८ किलोवाटले बढी हो । यसअघि २०० किमी रेन्ज दाबी गरिएको भोल्टले अब ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको मोटर पावर पनि ३५ किलोवाट भएको छ । टर्क पनि ८ एनएमले बढी छ । नयाँ मोडलको टर्क ११० न्युटन मिटर छ । नयाँ मोडल भोल्ट सी प्रोले ३० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्ने छ । यसअघि केबल ३.३ किलोवाट क्षमताको एसी चार्जिङ मात्रै सपोर्ट गर्थ्यो ।

चिनियाँ कम्पनीको मिनी ह्याचब्याक कारमा सुरक्षाको लागि एयरब्याग, ईबीडीसँग एबीएस, हिल होल्ड एसिस्ट, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा दिइएको छ ।

कम्पानीले पहिलेको तुलनामा इन्टेरियरमा पनि परिवर्तन गरेको छ । ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, हेलोजेन हेडल्याम्प, एलईडी डे टाइम रनिङ लाइट, स्मार्ट की, रिमोट लकिङ, इलेक्ट्रीक पावर विन्डो जस्ता फिचर छन् ।


Back_to_top