काठमाडौं । चीनतर्फबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि भीषण बाढी आएको छ । बुधबार बिहान २ बजे चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा बगाएको छ।
साथै, बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवा र नुवाकोटले नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यसअघि गत असार २४ गते आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल, भन्सार यार्डमा राखिएका ६५ गाडी बगाउनुका साथै ठूलो धनजनको क्षति भएको थियो ।

