काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गरेको छ ।
निगमले बिहीबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर २१ अमेरिकी डलर बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ ।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४८.५० रुपैयाँ, दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

