काठमाडौं । विश्वका अधिकांश देशमा ट्राफिक जरिवाना उच्च छ । एकपटक नियम मिचेमा चालकले महिना दिनको तलबभन्दा धेरैसम्म रकम जरिवाना तिर्नुपर्छ । सोही कारण ट्राफिक नियम उल्लंघन गर्न डराउँछन् ।
तर, नेपालमा भने जरिवाना रकम कम हुँदा सडक अनुशासन उल्लंघन गर्ने प्रवृत्ति मौलाउँदो छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार मासिक औसतमा १ लाख बढी सवारी साधनलाई कारबाही गरिँदै आइएको छ । जनशक्ति अभाव र पर्याप्त आधुनिक सूचना प्रणालीको प्रयोग हुन नसक्दा सडक नियम मिच्ने थोरैलाई मात्र कारबाहीको दायरामा ल्याउन सकिएको ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति निरुत्साहित गर्न जरिवाना रकम उच्च बनाउनुपर्ने ट्राफिकको भनाइ छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै २०७३ वैशाख १७ गतेदेखि नयाँ जरिवाना लागू गरेको थियो । त्यसयता जरिवाना रकम बढाएको छैन ।
कम जरिवाना भएकै कारण ट्राफिक नियम उल्लंघनको घटना बढेपछि सरकारले एकैपटक कारबाहीको दायारा र जरिवाना रकम दुवै बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याएर जरिवाना रकम बढाउने तयारी गरेको हो ।
मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख (सह-सचिव) कृष्णराज पन्थले ट्राफिक नियम उल्लंघनलाई निरुत्साहित गर्न जरिवाना बढाउन लागिएको बताए । अहिले जरिवाना कम हुँदा सडक नियम उल्लंघन गर्ने प्रवृत्ति झनै बढेपछि नयाँ ऐनमार्फत जरिवाना रकम बढाउन लागिएको उनले बताए ।
‘अहिले ट्राफिक नियम मिच्नेलाई जरिवाना निकै कम छ । जसकारण नियम उल्लंघनका घट्ना बढेकाबढ्यै छन्,’ उनले मरोअटोसँग भने, ‘त्यसैले ट्राफिक नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ ऐनमार्फत जरिवाना रकम बढाउन लागिएको हो ।’
उनका अनुसार नयाँ ऐनमा जरिवाना रकम ५० हजार रुपैयाँसम्म प्रस्ताव गरिएको छ । नयाँ ऐन आएपछि सडक अनुशासन उल्लंघनको घटनामा कमी आउने मन्त्रालयको अपेक्षा छ ।
जरिवाना बढाउनका लागि सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइसकिएको उनले जानकारी दिए । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उक्त विधेयक संसदमा लगिने उनले बताए । संघीय संसदमा दर्ता भएपछि उक्त विधेयक संसदीय प्रक्रियामा जाने उनको भनाइ छ ।
कारबाहीको दायारा र जरिवाना दुवै बढाइँदै
मन्त्रालयले नयाँ विधेयकका ट्राफिक नियम उल्लंघनको दायारा र जरिवाना दुवै बढाउन लागेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा २० वटा कसुर गरेको पाइएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न पाउने व्यवस्था छ । तर, अहिले प्रस्ताव गरिएको नयाँ विधेकमा ३४ कसुर गरेमा यातायात निरीक्षकले तत्कालै सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

त्यस्तै, नयाँ विधेयकमा कसुर संख्यासँगै जरिवान रकम पनि दशाैं गुणासम्म बढाइएको छ । हालको व्यवस्था अनुसार तोकिएको कसुर गर्नेलाई यातायात निरीक्षक वा प्रहरीले ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । तर, अहिले प्रस्ताव गरिएको नयाँ विधेयकमा कसुर अनुसार १०० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था गरिएको छ ।
‘जरिवाना बढाउन ढिला भयो, कम्तीमा २ हजार पुर्याउनुपर्छ’
महानगरीय ट्राफिक प्रहरी प्रवक्ता दीपक गिरी ट्राफिक जरिवाना रकम बढाउन ढिलो भइसकेको बताउँछन् । कतिपय अवस्थामा कडा सजायले नै मानिसलाई अनुशासनमा राख्न सहयोग गर्ने भएकाले जरिवाना रकम बढाउने पर्ने उनले बताए ।
नयाँ ऐनमा प्रस्ताव गरिएको जरिवाना रकम अझै कम भएको उनी बताउँछन् । जुनसुकै ट्राफिक नियम उल्लंघन गर्दा जरिवाना रकम कम्तीमा २ हजार रुपैयाँ पुर्याउनु पर्ने उनको भनाइ छ ।
‘ट्राफिक नियम तोड्न हुँदैन भन्ने सबैलाई थाहा छ । तर, धेरैजसोले जानजानी उल्लंघन गरेको देखिन्छ । अहिले जरिवाना रकम थोरै हुँदै नियम उल्लंघन गर्ने क्रम बढेको हो । त्यसलाई नियन्त्रण गर्न जरिवाना रकम बढाउनै पर्छ । कम्तीमा २ हजार रुपैयाँ पुर्याउनुपर्छ,’ उनले मेरोअटोसँग भने । विश्वका अधिकांश देशको तुलनामा नेपालमा ट्राफिक जरिवाना निकै कम रहेको उनको भनाइ छ ।
पर्याप्त जनशक्ति, आधुनिक प्रविधिको अभाव, सडकको अवस्था लगायत कारणले नियम उल्लंघन गर्ने सबैलाई कारबाही गर्न नसकिएको उनले बताए ।
कुन कसुरमा कति जरिवाना ?
प्रस्तावि विधयेक अनुसार सार्वजनिक सवारी साधनको जाँचपास प्रमाणपत्र अद्यावधिक नगरी सवारी चलाएमा दुईपाँग्रेको हकमा ५ हजार, तीनपाँग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा ठूला सवारीको हकमा १५ हजार रुपैयाँ जरिवाना गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, नयाँ व्यवस्था अनुसार तोकिएकाभन्दा बढी गति (ओभर स्पीड)मा सवारी चलाए ५ हजार रुपैयाँ, अरुलाई हानी पुग्ने गरी सवारी चलाएमा २५ हजार रुपैयाँ, ओभरटेक गर्न नहुने ठाउँमा ओभरटेक गरेमा २ हजार रुपैयाँ, सार्वजनिक सवारी साधनमा भाडादरको सूची नराखेमा १ हजार रुपैयाँ, स्तर कायम नगरी वा स्तर कायम नभएका सवारीमा स्तर जनाएमा ५ हजार, लेन अनुशासन पालना नगरे वा संकेत नदिई लेन परिवर्तन गरेमा, फूटपाथमा सवारी चलाएमा, ट्राफिक चिह्न र संकेत पालना नगरेमा १ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, रातमा बत्ति नबाली सवारी चलाएमा २ हजार, सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा ३ हजार, वान वे सडकमा सवारी चलाए १ हजार, प्रशिक्षण अवधिमा तोकिएको स्थानमा प्रशिक्षक साथमा नराखी सवारी चलाएमा ३ हजार, ट्राफिक प्रहरीको इशारा उल्लंघन गरेमा १ देखि २ हजार, सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा २ हजार, लामो बाटोमा संचालन हुने सवारी साधनले प्रत्येक ८ घण्टामा चालक परिवर्तन नगरेमा ५ हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा ५०० रुपैयाँ, सवारी साधनबाट सडकमा फोहोर फालेमा १ हजार, चोरीको सवारी चलाएमा ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।


