‘अफोडेबल’ एसयूभी सेग्मेन्टमा भिड्दै बीवाइडी र नामी, भदौमा बुकिङ खुल्ने

काठमाडौं । कम मूल्यको एसयूभी खोज्नेलाई दुई नयाँ विकल्प थपिने भएका छन् । बीवाइडी एटो-टु र नामी-०६ दुई नयाँ मोडल नेपाली बजारमा थपिन लागेका हुन् ।

यी दुई एसयूभी ब्याट्री साइज, रेन्ज, बडी साइज जस्ता कुरामा एक अर्काका सिधा प्रतिस्पर्धी हुन् । यी दुईको टक्कर मूल्यमा पनि हुने देखिन्छ । यी दुई ब्राण्ड मध्ये कुनले ग्राहक तान्ने मूल्य प्रस्तुत गर्न सक्छ अहिल्यै एकिन छैन ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो दुवैमा सहभागिता जनाउँदै छ । त्यसैले भदौ लागेसँगै यसको बुकिङ खुला गर्ने अनुमान गर्न सकिन्छ ।

डोङफेङ नामी ब्राण्ड नाडा अटो शोमा मात्रै सहभागी हुँदैछ । त्यसैले डोङफेङले अटो शो मार्फत बुकिङ खुला गर्ने अनुमान गर्न सकिन्छ । एमएडब्लू वृद्धिले नाडा अटो शो अगाडि नै यसलाई लन्च गर्ने सम्भावना पनि त्यति कै छ ।

त्यसैले हामीले यहाँ बीवाइडी एटो-टु र नामी-०६ बीच कति भिन्नता र समानता छन् भन्ने विषयमा चर्चा गरेका छौं ।

डायमेन्सन

ङफेङ नामी-०६ को लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६४५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस छ । यसमा १७ इन्चको अलोय ह्वील छ भने ग्राउण्ड क्लियरेन्स १८५ एमएम हुनेछ । नामी-०६ मा ५०० लिटरको बुटस्पेश पाउन सकिन्छ ।

त्यसैगरी, बीवाइडी एटो-टुको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । एटो-टुमा २६२० एमएम लामो ह्वीलबेस छ । यसमा पनि १७ इन्चकै ह्वील पाउन सकिन्छ । कम्पनीले ग्राउण्ड क्लियरेन्स बारे जानकारी दिएको छैन । यसको बुट स्पेश ४०० लिटरको छ ।

क्याविन फिचर

गाडी किन्नेले धेरै हेर्ने क्याबिन नै हो । आफूले धेरै हेर्ने र बस्ने भएको कारण इन्टेरियरको महत्व धेरै हुन्छ । एटो-टुको इन्टेरियरमा १२.८ इन्चको टचस्क्रीन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील दिएको छ ।

बीवाइडीले यसमा ५० वाटको वायरलेच चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट, पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट जस्ता बहु उपयोगी फिचर दिएको छ ।

त्यसैगरी, डोङफेङ नामी-०६ को क्याबिन मिनिमल डिजाइन स्टाइलिङमा छ । यसको सेन्टर कन्सोलमा पनि एटो-टुकै जत्रो १२.८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम छ । साथै, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई सुचना दिन्छ ।

ओभल सेपको स्टेरिङ ह्वील प्रयोग भएको नामी-०६ मा गियर नब स्टेरिङ ह्वीलको पछाडि दिइएको छ । नामी-०६ को सेन्टर टनेलमा हिडन कम्पार्टमेन्ट र वायलेस चार्जिङ प्याड दिएको छ । साथै, हिटेड भेन्टिलेटेड र मसाज सिट यसको अर्को बलियो पक्ष हो । इन्टेरियरमा सफ्ट टच मेटेरियल प्रयोग भएको एसयूभीको क्याबिनमा प्यानारोमिक सनरुफ, एम्बियन्ट लाइट र ६ वटा स्पीकर छन् ।

मोटर ब्याट्री र रेन्ज

नामीको पहिलो एसयूभी ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा आएको छ । बीवाइडी एटो-टुमा १०० किलोवाटको मोटर हुनेछ । दुवै एसयूभीको पावर र टर्क लगभग समान हुने अनुमान गर्न सकिन्छ ।

बीवाइडीले एटो-टुलाई ५१.१३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा ल्याउने छ । जसको डब्लूएलटीपी रेन्ज ३४० किलोमिटर रहेको छ । एटो-टुमा रहेको ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । यसमा भीटुएल फङ्सन पाउन सकिन्छ ।

नामी-०६ दुई ब्याट्री अप्सनमा आउने छ । सानो ४४.९४ किलोवाट आवर र ठूलो ५१.८७ किलोवाट आवर ब्याट्री रहन्छ । ठूलो ब्याट्री सिधै एटो-टुसँग भिड्छ । समान साइजको ब्याट्रीको रेन्ज पनि लगभग उस्तै हुनेछ । यसमा रहेको ब्याट्रीलाई ७ किलोवाटको एसी चार्जर र ६० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

सेफ्टी फिचर

दुवै एसयूभीमा सुरक्षाका लागि एथेस्ट सेफ्टी फिचर छन् । नामीले एसयूभीमा डीजेआई पावर्ड लेभल टु एडास सिस्टम, मल्टिपल एयरब्याग, एबीएस, ईबीडी र इलेक्ट्रीक स्टेबिलीटी कन्ट्रोल, ३६० डीग्री क्यामरा, हिल असिस्ट जस्ता फिचर दिएको छ ।

फिचर दिन बीवाइडी पनि के कम छ र । उसले ६ वटा एयरब्याग, एबीएस, ईपीबी, ईएससी, हिल असिस्ट, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, बीवाइडी डिजिटल की, हिल असिस्ट, लेभल टु एड्भान्स एडास सिस्टम दिएको छ ।

बडी डिजाइन

एटो-थ्रीको सफलतापछि जन्मेको एटो-टुको फ्रन्टमा स्लीक एलईडी हेडलाइट, स्लीम एलइडी डीआरएल र ग्लसी ब्ल्याक एसेन्ट प्रयोग गरेको छ । साइडमा १७ इन्चको अलोय ह्वीलसँगै ब्ल्याक कलरको ह्वील आर्क र बडी क्लाइडिङको कम्बिनेस राम्रो देखिन्छ ।

पछाडि भागमा फुलविथ एलईडी लाइटबारको साथमा फरक डिजाइनको इन्फिनिटी रिङ प्यार्टन छ । उक्त प्यार्टनले एटो-टुलाई युनिक भिजुअल सिग्नेचर दिएको छ ।

नामी-०६ को डिजाइन डाइनामिक तथा मोर्डन फिलोसोफिमा आधारित छ । यसको फ्रन्ट डिजाइनमा फ्यूचरिस्टिक र स्पोर्टी एस्थेटिक देख्न पाइन्छ । फ्रन्टमा सेभेन सेपको एलईडी डीआरएल, स्लीक एलईडी हेडल्याम्प, क्लोजअफ ग्रिलले झट्ट हेर्दा तान्छ । साइडमा हाइ सोल्जर लाइन, १७ इन्चको अलोय ह्वील, रुफरेल र पछाडि दिइएको पीक्सेल म्याट्रिक्स एलईडी ल्याम्पले फरक देखाउँछ ।

अन्त्यमा

डोङफेङको क्वान्टम आर्किटेक्चर ३ प्लेटफर्ममा बनेको नामी-०६ र बीवाइडीको ई प्लेटफर्म ३.० र सेल टु बडी टेक्नलोजीमा बनेका एटो-टुमा धेरै समानता देखिए । यी दुवै एसयूभीले नेपाली कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा राम्रो बजार पाउने अनुमान धेरैको छ । ग्राहकले के खोज्छन् र कुन रोज्छन् के थाहा !


Back_to_top