लामो समयको प्रतिक्षा पश्चात यामाहाले भारतीय बजारमा नयाँ मोटरसाइकल एमटी-१५ सार्वजनिक गरेको छ । मार्च १५ मा सार्वजनिक भएको यो मोटरसाइकल आर-१५ भि ३ को नेकेड भर्सनको रुपमा लिइएको छ ।
आर-१५ भि-३ र एमटी-१५ नेकेड बाइकबीच धेरै नै समानताहरु रहेका छन् । यद्यपी यी दुई मोटरसाइकलको डिजाइनलगायतका अन्य फिचरहरु फरक देखिन्छन् ।
आर-१५ भि-३ को इन्जिनमा आधारीत रहेर निर्माण गरिएको बाइकमा धेरै फिचर उस्तै रहेको छ । एमटी-०९ बाट प्रेरीत रहेर एमटी-१५को डिजाइन गरिएको छ । जसका कारण यस मोटरसाइकलको डिजाइन युनिक देखिन्छ ।
यसमा फुल एलइडी बगआई हेडल्याम्प दिइएको छ । बाइकमा प्रयोग गरिएको डिजिटल क्लस्टर यामाहा आर १५ भि-३ को क्लस्टर रहेको छ ।
यामाहाको एमटी-१५ र आर-१५ भि-३ बाइकको राइडिङ पोजिशन फरक रहेका छन् । आर-१५ मा ह्यान्डलबारमा क्लिप दिइएको छ भने, रियरमा फुट पेज दिइएको छ ।
बाइक सुरुवाती तथा मध्यम रेन्जमा उत्कृष्ट पावर रहेको छ ।
३७ एमएमको टेलिस्कोप र्फोक र रियरमा स्वीङ आर्म एडजस्टेवल मोनोसक प्रयोग गरिएको बाइकको फ्रन्ट ह्वीलमा २८२ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ। भारतीय बजारमा यो बाइक सिगंल च्यानल एबिएससहित उपलब्ध छ ।
एमटी-१५ नेकेड बाइकमा सिंगल पिस ह्यान्डल बार दिइएको छ भने, लोअर सिट हाइट रहेको छ, जसले आर-१५ भि३ को तुलनामा राइडिङ सहज हुन्छ ।
एमटी-१५ को लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, उचाई १०७० एमएम र ह्वीलबेस १३३५ एमएम रहेको छ । एमटी-१५ मा आर-१५ मोटरसाइकलमा भन्दा धेरै ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
बाइकमा १५५ सीसी, सिंगल सिलिन्डर एसओएचसी इन्जिन दिइएको छ । जसले १९ एचपी पावर र १५ एनएम टर्क उत्पादन गर्छ ।
भारतीय बजारमा एमटी-१५ को मूल्य १ लाख ३६ हजार रहेको छ । यस बाइकले हालै मात्र सार्वजनिक भएको केटीएम डुक १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।
भारतीय बजारमा सार्वजनिक भएसँगै केही समय पछि एमटी १५ नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको छ ।
यामाहाको एमटी ०९ स्ट्रीट फाइटर र सुपर स्र्पोटस् बाइक आर१५ भि-३ को फ्युजनमा तयार पारिएको यो बाइक यसको पावर, लुक्स, मूल्य र यसमा प्रयोग भएको भिभिए इन्जिन, स्लीपर कल्च जस्ता नयाँ प्रबिधीका कारण यो बाइक भारतीय तथा नेपाली बजारमा समेत आर-१५ भि-३ जस्तै सफल हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

