काठमाडौं । दक्षिण एसियाली बजारमा खराब बिक्रीको कारण दबाबमा रहेको युरोपियन कार निर्माता स्टेलान्टीस इण्डियाले नयाँ मोडल सार्वजनिक गरेको । कम्पनीले यसअघि बिक्री गर्दै आएको सीथ्रीको नयाँ भेरियन्टको रुपमा ‘एक्स’लाई बजारमा उतारेको हो ।
कम्पनीले भारतको लागि नयाँ रणनीति तयार पार्दै ‘सिट्रोन २.० सिफ्ट इन्टु दी न्यू स्ट्रयाटिजी’ अन्तर्गत सीथ्रीको नयाँ भेरियन्ट एक्स बजारमा ल्याएको हो ।
स्टेलान्टीस इण्डियाले मासिक ५०० भन्दा कम युनिट गाडी बिक्री गर्दै आएको छ । उक्त संख्याले कम्पनीलाई टिकाउन नसक्ने निस्कर्षसहित नयाँ भेरियन्ट ल्याएको हो ।
सिट्रोनले भारतमा सीथ्री, बसाल्ट कुपे, ईसीथ्री, सीथ्री एयरक्रस र सी-फाइभ मोडल बिक्री गर्दै आएको छ । नेपालमा भने सीथ्रीको पेट्रोल र इलेक्ट्रीक भेरियन्ट भारतबाट आयात हुँदै आएको छ ।
स्टेलान्टीस इण्डियाका बिजनेस हेड र निर्देशक कुमार प्रियशका अनुसार नयाँ लन्च भएको सीथ्री एक्सको ड्राइभिङ डाइनामिक्समा सुधार गरिएको छ । कम्पनीले लोकलाइजेशनलाई प्राथमिकतामा राख्दै भारतीय बाटोको लागि उत्कृष्ट सस्पेन्सन डिजाइन गरेको जानकारी दियो । सिट्रोन सीथ्री एक्सको मर्मत खर्च पनि एकदमै कम हुने प्रियशले दावी गरे ।
कस्तो छ सीथ्री एक्स ?
फ्रेन्च अटोमोवाइल कम्पनी सिट्रोन सीथ्री एक्सको साइज र डिजाइन पहिला कै सीथ्री जस्तै बनाएको छ । नयाँ मोडलमा १५ वटा फिचर थपिएका छन् । यसअघि सिट्रोनले सीथ्रीलाई ‘ह्याच विथ अ ट्वीस्ट’ भनेकोमा सीथ्री एक्सलाई सिधै एसयूभी भनेको छ ।
फ्रेन्च निर्माताले क्रुज कन्ट्रोल, ७ फरक भ्यूमोड भएको ३६० डिग्री क्यामरा, ७ इन्चको ड्राइभर डिस्प्ले स्कृन, अटोडिमिङ आइआरभीएम, अटो फोल्डिङ ओआरभीएम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट/स्टप दिएको छ ।

माथि उल्लेख भएका फिचरका अलावा हिल होल्ड असिस्ट, टीपीएमएस, फुल एलइडी सेटअप, प्रोजेक्टर हेडल्याम्प, प्रोजेक्टर फग ल्याम्प र एलइडी डीआरएल तथा बम्परको तल स्कीड प्लेट थप गरेर ल्याएको हो ।
यसअघिको सीथ्रीमै उपलब्ध १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, युएसबी र टाइपसी चार्जिङ पोर्ट, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, एबीएस प्लस इबीडी, स्पीड सेन्सीङ अटो डोर लक, हाइस्पीड अलर्ट जस्ता फिचरलाई निरन्तरता दिएको छ ।
कम्पनीले सीथ्री एक्समा ८२ पीएस पावर भएको नेचुरल एस्पिरेटेड १.२ लिटरको इन्जिन र ११० पीएस पावर दिने १.२ लिटरको टर्बो चार्ज्ड थ्री सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स रहेको छ ।


