ईएक्स-फाइभ टेस्ट ड्राइभ : प्रतिस्पर्धीलाई चुनौती, किन्नेका लागि बलियो विकल्प

काठमाडौं । जिली ब्राण्डको ग्यालेक्सी ईएक्स-फाइभ काठमाडौं जिल्ला भित्र सहरी र पहाडी भेगमा चलाएर हेर्ने मौका मिल्यो । उसोत यसअघि प्रोटोन इमास-सेभेनको रूपमा आएको गाडी पनि यही थियो ।

बाहिरबाट दुवै गाडी एउटै हो, भित्र र टेक फिचरमा फेरवदल पाइयो । ब्याट्री एउटै हो । तर, प्रोटोन इमास-सेभनमा ४९ र ६० किलोवाट आवरको दुई फरक साइज छ । तर, जिली ग्यालेक्सी ईएक्स-फाइभको दुवै भेरियन्टमा ६० किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यी दुई गाडी बीचको तुलना यतिमै सीमित राखौं ।

उपत्यकाको निकै उकालो लाग्ने मध्येको एक बाटो जहरसिंहपौवाको उकालो होस् वा चाबहिल साँखु सडक दुवैमा क्यालेक्सी ईएक्स-फाइभको पावर गज्जप थियो । १६० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर भएको कारले रोमान्चक यात्रा दिन्छ ।

कुनै झन्झट विना प्रयोग गर्न सकिने भ्वाइस कमाण्ड साँच्चै राम्रो छ । कम्पनीका अनुसार १० किसिमका कमाण्ड यसबाट दिन सकिन्छ । प्रिमियम सिट, उत्कृष्ट डिजाइनमा तयार भएको सेन्टर कन्सोल र आकर्षक ड्यासबोर्डले क्याबिनको माहोल उत्कृष्ट बनाउँछ ।

औषतमा नेपाल आएका कारले प्रति १०० किलोमिटर यात्रा गर्दा १५ किलोवाट आवर ब्याट्री खर्च गर्ने गरेको देखिन्छ । यसमा रहेको ब्याट्रीले पनि त्यही औषतमा रेन्ज दिने हाम्रो ड्राइभबाट देखियो । जुन प्रतिस्पर्धी अन्य मोडलकै सरह हो ।

आफैँमा उत्कृष्ट प्रोडक्ट भएपछि प्रतिस्पर्धीको पनि टाउको दुखाई हुने नै भयो । प्रोटोन इमास-सेभेन, बीवाइडी एटो-थ्री, लीपमोटर सी-१० र बी-१०, ओमोडा ई-फाइभ, जेको जे-फाइभ, एमजी एस-फाइभ, दीपल एस-०५ जस्ता क्रसओभर मोडलसँग यसको सिधा प्रतिस्पर्धा हुनेछ ।

मूल्य र अफर

एलआरआर मोटर्सले नाडा अटो शो २०२५ को दौरान जिली ईएक्स-फाइभ बुकिङ गर्ने ग्राहकलाई भारी नगद छुट हुने जनाएको छ । कम्पनीका अनुसार प्रो भेरियन्टमा ३ लाख रुपैयाँ नगद छुट दिइएको छ । अटो शोमा प्रो केन्नेले ५४ लाख ९९ हजार रुपैयाँ तिर्दा पुग्छ । नगद छुटका अलावा कम्पनीले एक थान आइफोन १६ प्रो म्याक्स र एक तोला सुन प्रदान गर्नेछ ।

टप भेरियन्टको अफर मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा पनि ४ लाख रुपैयाँ नगद छुट प्रदान गरेको हो । म्याक्स भेरियन्टमा पनि गाडी किन्नेले एक तोला सुन र आइफोन १६ प्रो म्याक्स पाउने छन् ।

के के छन् अन्य फिचर

यसको डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्य सबै आकर्षक लाग्छ । ग्यालेक्सी ईएक्स फाइभ स्नो-ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रीन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।

दुवै भेरियन्टमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी, एईबी, ब्लाइण्ड स्पट मोनिटरिङ, हिल असिष्ट लगायतका फिचर छन् । दुवैमा इन्टिग्रेटेड स्मार्ट यूआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।

ईएक्स फाइभको बाह्य डिजाइन आधुनिक र एरोडायनामिक प्रोफाइलमा आधारित छ । सार्प र बलियो बडी डिजाइन देखिने एसयूभीमा १५.४ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ पाउन सकिन्छ ।


Back_to_top