काठमाडौं । यात्री डिजाइन स्टुडियो र सिप्रदी ट्रेडिङको संयुक्त लगानीको नयाँ स्कुटर तयार भएको छ ।
बुबाको मुख हेर्ने दिनको अवसर पारेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल यात्री डिजाइन स्टुडियो अवलोकनमा गएका थिए । यात्रीले अर्थमन्त्रीले अवलोकन गरेको फोटो सामाजिक संजालमा सार्वजनिक गर्दा यात्री पी २ को प्रडक्सन मोडलको पनि तस्बिर बाहिर आएको हो ।
सार्वजनिक तस्बिरमा देखिए अनुसार स्कुटर पूर्णतया स्पोर्टी डिजाइनमा भएको सहजै अनुमान गर्न सकिन्छ । कम्पनीले केही समय अगाडि सार्वजनिक गरेको टिजरमा देखिए जस्तै मिड माउन्ट मोटर देखिएको छ ।
अगाडिको फेन्डर र रियर पार्ट मस्कुलर देखिएको छ । सिटको तल यात्रीको निलो कलरको ब्याज प्रयोग गरे जस्तो देखिन्छ भने यसमा फराकिलो सिट भएको अनुमान गर्न सकिन्छ ।

सार्वजनिक तस्बिरमा १२ इन्चको अलोय ह्वील देखिएको छ भने, आल्मुनियम स्वीङ आर्म प्रयोग भएको देखिन्छ । त्यस्तै डबल साइडेड स्प्रिङ सस्पेन्सन समेत देखिन्छ । स्कुटरमा सार्प एजहरूको प्रयोग र फ्लोर वोर्ड पनि फराकिलो भएको अनुमान गर्न सकिन्छ ।
कम्पनीले निकट भविष्यामै यो स्कुटर बजारमा ल्याउने अनुमान गर्न सकिन्छ । सार्वजनिक तस्बिर हेर्दा फाइनल प्रडक्सन मोडल जस्तै देख्न सकिन्छ ।
कम्पनीले तयार पारेको पहिलो मेड इन नेपाल इलेक्ट्रीक स्कुटर नाडा अटो शोमा प्रर्दशन गर्ने भनिए पनि प्राविधिक कारणले प्रदर्शन हुन सकेको थिएन ।

