नेपाली पुँजीवादले दिने ‘असिमित अवसर’ र मोट्रेक्सको आर्थिक हैसियत

उबेलाका ‘डार्लिङ’ राजनीतिज्ञ बाबुराम भट्टराई प्रधानमन्त्री भए पश्चात् ‘मुस्ताङ म्याक्स’ गाडी चढेर लोकप्रियताको शिखर चढेका थिए । यद्यपि उनी लोकप्रियताको डाँडाको टुप्पामा धेरै बेर अड्न सकेनन् । र, त्यही मुस्ताङ चढेर ग्वार्रग्वार्रती तल झरे । मुस्ताङ गाडी तल बेंसीमा स्टार्ट नै नहुने गरि बजारियो र डाक्साब पनि राजनितिक डबलीबाट नराम्रोसँग भुँइमा थचारिए । 

डाक्साब र मुस्ताङको नियती उस्तै भइदियो । परन्तु, नियती उस्तै हुनुका कारण भने आ–आफ्नै होलान् । हाल मुस्ताङको कारखानामा भोटे ताल्चा लागिसकेको छ भने, डाक्साबले सारै रहरले खोलेको बुकुरे पार्टी पनि केही हप्ता अघि नेपाली कांग्रेसले झण्डै झ्वाम् पारेको थियो । धन्न प्रविधिक कारणबश जोगियो ।

मोट्रेक्सले नेपालमा गाडी बनाउन सारै रहर गरेको छ । नेपालमा ब्यवसायीक सम्भावना देखेर हो वा नेपाली पुँजीवादले दिने गरेको ‘असिमित अवसर’ देखेर हो उही जानोस् । 

तर, अहिले स्थिति फेरिएको छ । डाक्साबको पालामा राजनितिक मोफसलबाट बेलामौका रोचक टुक्का हान्दै बसेका खड्गप्रसाद ओली नेपाली राजनीतिको रङ्मञ्चमा उदाएका छन् । र, मुस्ताङ म्याक्सको अवसान सँगै मुर्झाएको ‘आफ्नै देशमा बनेको गाडी’ चढ्ने नेपाली सपना पुरा गर्न दक्षिण कोरियाबाट ‘मोट्रेक्स’ नाम गरेको कम्पनी नेपाल अवतरण गरिसकेको छ ।

त, के पुरानो स्थितिमा परिर्वतन आउला ? के खड्गप्रसाद, डाक्साबको तुलनामा लामो समय सत्ता केन्द्रमा रहलान् ? के उनको ‘भिजन’ ‘खुसी नेपाली समृद्ध नेपाल’ पुरा होला ? अनी, के मोट्रेक्सले नेपालमै गाडी बनाउने काम पार लाउला ? सामाजिक सञ्जालका भित्ताहरुमा पछिल्ला समय रुमल्लीरहेका यक्ष प्रश्नहरु यिनै हुन् ।

प्रश्नहरु साह्रै महत्वपूर्ण भएकाले उत्तर पत्ता लगाउने खसखस नलागेको होइन । बिभिन्न थरिका बिज्ञ र बुद्धिजिविहरुसँग सहयोग मागेकै हो । तर, कोही ‘छाड्देउ न यार, नेपालको के जान्छ र ? लगानी गर्छु भनेको छ । गर्ला नी । किन टाउको दुखाउनु ?’ भन्दै पन्छिए । कसैले ‘कसरी बन्छ गाडी ? हावादारी कुरा गरेजस्तो हुन्छ ? दशकौं देखि यही बजारमा गाडी बेचिरहेका कम्पनीहरुले बनाउन सकेका छैनन् । यो गाडी बनाउने अनुभव नै नभएको कम्पनीले गाडी बनाउँछ ? उखान भने जस्तो सजिलो छ र ?’ भन्दै हप्काए । बाँकीले भने खड्गप्रसाद जस्तो भिजन र सोच भएको मानिसले देश हाँकेका बेला जस्तो सुकै काम पनि गर्न सकिने र हामीले उहाँ माथि बिश्वास गरेर सकारात्मक सोच राख्दै उहाँ मातहतका राज्यसत्ताका अङ्गहरुलाई मद्दत गर्नुपर्ने सुझाव दिए  ।

प्रश्नको खसखस नमेटिएकाले मोट्रेक्सका बारे केही थप जानकारी बटुल्न गुगल र मोट्रेक्सको वेबसाइट तिरको बाटो तताइयो ।

के हो मोट्रेक्स ?

मोट्रेक्स आधारभुत रुपमा गाडीको ‘इन्फोटेनमेन्ट सिस्टम’ (गाडीमा सुचना र मनोरञ्जनका लागि प्रयोग हुने यन्त्रहरु) बनाउने कम्पनी हो । दक्षिण कोरियामा आधारित यो कम्पनी सन् २००१ मा स्थापना भएको हो । करिब ७० देशहरुमा आफ्ना उत्पादन बेच्दै आएको यो कम्पनीका ९ बिभिन्न देशहरुमा स–साना शाखा कार्यालयहरु रहेका छन् । 

आफ्नै देशमा ब्यवसायमा भारी गिरावट आएको र सेयर मूल्य पनि तिब्र गतिमा ओरालो लागेको अवस्थामा नेपालमा आएर अनुभव नै नभएको क्षेत्रमा काम गर्न यो कम्पनी किन कस्सिएको छ ? त्यो पनि ७ बर्षे सर्त लगाएर । 

कम्पनीमा हाल ३ सय ७० जना कर्मचारी रहेको बताइन्छ । करिब १०० जना कार्यरत कारखाना ९ हजार बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । यी तथ्यहरुका आधारमा हेर्दा आफुलाई अनुभव नभएको क्षेत्रमा नेपालजस्तो देशमा करिब १० अर्ब रुपैंयाँ लगानी गर्ने र आगामी ७ बर्ष अन्य प्रतिस्पर्धीको बाटो छेक्ने प्रस्ताव गर्ने यो कम्पनीको आकार भने केही सानै लाग्छ । 

प्रमुख कार्यकारी अधिकृत लि हुवानका पछिल्ला बक्तब्यहरुमा कम्पनीको गाडी निर्माण गर्ने योजनाहरुका बारे कुनै ‘जिकर’ पाईंदैंन । कम्पनीको ब्यवसाय आधारभुत रुपमा ‘इन्फोटेनमेन्ट’ र गाडीका सुरक्षा प्रबिधिहरुको निर्माणमा फैलिएको छ । 

पुँजी बजारमा मोट्रेक्स

सन् २०१७ मा कोरियाली सेयर बजारमा सुचिकृत यो कम्पनीको सेयर मूल्य हाल ४ हजार वोनको आसपास रहेको छ । सन् २०१८ को मध्य तिर करिब ७ हजार ५ सय वोनमा कारोबार भैरहेको मोट्रेक्स पछिल्ला महिनाहरुमा निकै तल झरेको छ । यद्यपी समग्र सेयर बजार नै तल झरेको अवस्था भने होइन । 

सेप्टेम्बर ३०, २०१८ (९ महिनाको बित्तिय बिवरण) सम्म कम्पनीको कारोबार १९ प्रतिशतले घटेको छ भने खुद नाफामा ८८ प्रतिशतको गिरावट आएको छ । 

विकसित सेयर बजारहरुमा कम्पनीहरुका सेयर मूल्यमा यसरी गिरावट आउनुमा कम्पनीको समग्र वित्तिय अवस्थाकै प्रमुख भूमिका हुन्छ । लगानीकर्ता सचेत हुने हुनाले नेपालमा जस्तो हल्लाकै भरमा कम्पनीका सेयर मूल्य आकाशिने र झर्ने अवस्था कम हुन्छ । कम्पनीको सेयरको प्राविधिक बिश्लेषणमा बिक्री चाप देखिन्छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५६ छ भने, लगानीकर्तालाई ३.५३ प्रतिशत लाभांश खुवाएको छ । 

कम्पनीको वित्तीय अवस्था

उपलब्ध (सन् २०१७ को अन्त्यसम्म) पछिल्लो वासलातका अनुसार मोट्रेक्सको कुल सम्पत्ति करिब २ खर्ब वन (२० अर्ब नेपाली रुपैंयाँ) रहेको छ । कम्पनीको सन् २०१४ मा करिब ८ अर्ब रुपैंया, सन् २०१५ मा १० अर्ब र सन् २०१६ मा १३.५ अर्ब रुपैंयाँ बराबरको सम्पत्ति रहेको थियो । कम्पनीको दायित्व सन् २०१७ को अन्त्यसम्म ६.५ अर्ब रुपैंयाँ रहेको छ । वासलातको आकारको दृष्टिकोणले कम्पनीको आकार खासै ठूलो छैन । यो नेपालका मझौला बाणिज्य बैंकको भन्दा पनि निकै सानो आकारको वासलात हो ।

सन् २०१७ मा मेट्रोक्सको खुद नाफा करिब २ अर्ब रुपैंयाँ रहेको छ । सन् २०१६ मा पनि नाफाको अवस्था उस्तै थियो भने सन् २०१४ मा कम्पनीको खुद नाफा १.६ अर्ब रुपैंयाँ थियो । 

तथ्यहरुले नेपाल जोखिम लिन चाहने विदेशी लगानीकर्ताका लागि राम्रै गन्तब्य भएको पुष्टि गर्छन् । युनिलिभरले लगानीकर्तालाई १२ सय प्रतिशतसम्म लाभांश बाँडेकै छ ।

बिगतका बर्षहरुमा कारोबार र नाफामा बढोत्तरी भए पनि पछिल्ला त्रैमासहरुमा भने कम्पनीका कारोबार र नाफामा भारी गिरावट आएको छ । सेप्टेम्बर ३०, २०१८ (९ महिनाको बित्तिय बिवरण) सम्म कम्पनीको कारोबार १९ प्रतिशतले घटेको छ भने खुद नाफामा ८८ प्रतिशतको गिरावट आएको छ । सायद यही कारणले पो होकी कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको पछिल्ला महिनाहरुमा । तर, आफ्नै देशमा ब्यवसायमा भारी गिरावट आएको र सेयर मूल्य पनि तिब्र गतिमा ओरालो लागेको अवस्थामा नेपालमा आएर अनुभव नै नभएको क्षेत्रमा काम गर्न यो कम्पनी किन कस्सिएको छ ? त्यो पनि ७ बर्षे सर्त लगाएर । बिगतमा जलबिद्युतको लाइसेन्स खल्तीमा बोकेर हिँडेजस्तो गर्न त होइन ?

विदेशी लगानी र नेपाली पुँजीवाद

तथ्यहरुले नेपाल जोखिम लिन चाहने विदेशी लगानीकर्ताका लागि राम्रै गन्तब्य भएको पुष्टि गर्छन् । युनिलिभरले लगानीकर्तालाई १२ सय प्रतिशतसम्म लाभांश बाँडेकै छ । बोटर्लस नेपालको पनि अवस्था राम्रै छ । साझेदारीमा खोलिएका बैंकहरुले पनि बार्षिक २५–३० प्रतिशतको वृद्धि गरेकै छन् । यो हिसाबले बिदेशी कम्पनीहरु नेपाल आउन चाहनु अनौठो पनि होइन ।

यस्तै ‘अवसर’ देखेर एउटा बिदेशी कम्पनी खातामा २०० रुपैंयाँ बोकेर ३ हजार मेगावाट बिजुली निकाल्न नेपाल पसेको धेरै भएको छैन ।

तर, नेपालको पुँजीवाद अलि अनौठो खालको छ । पुँजीवादमा सामान्यत लगानी र सीपका आधारमा पैसा कमाउने हो । तर, नेपालमा यी दुवै बिना पनि मनग्य पैसा कमाउन सकिन्छ । एउटा ठूलो दुरसञ्चार कम्पनीले पुँजी लगानी गरेर, ब्यवसाय बिस्तार गरेर भन्दा पनि पुँजीगत लाभ कर छलेर त्यो भन्दा धेरै पैसा कमाएको तथ्य सबैलाई थाहै छ । यस्तै ‘अवसर’ देखेर एउटा बिदेशी कम्पनी खातामा २०० रुपैंयाँ बोकेर ३ हजार मेगावाट बिजुली निकाल्न नेपाल पसेको धेरै भएको छैन । ती ब्यक्तिले प्रधानमन्त्रीकै सयन कक्षसम्म पहुँच पु¥याएको तथ्य उजागर भएकै हो । त्यसैका आधारमा प्रधानमन्त्रीले भाषण ठोकेकै हुन् । दर्ता नै नभएका विदेशी बिश्वबिद्यालयहरुले नेपालका ठूला कलाकार र नेताहरुलाई पिएचडी उपाधी दिएकै छन् ।

अन्त्यमा,

मोट्रेक्सले नेपालमा गाडी बनाउन सारै रहर गरेको छ । नेपालमा ब्यवसायीक सम्भावना देखेर हो वा नेपाली पुँजीवादले दिने गरेको ‘असिमित अवसर’ देखेर हो उही जानोस् । वा, उसलाई नेपालसम्म ल्याउने सृजनशिल ‘नवउद्यमी’ले जानुन् । तर, नेपाली बजारमा रहेको अवसर हुन्डाई, महिन्द्रा र टाटा जस्ता नेपाली बजारमा परम्परागत खेलाडीहरु भन्दा पहिले मोट्रेक्सले कसरी चाल पायो ? लगानी बोर्ड, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरुले नै यसको उत्तर पत्ता लगाउलान् । त्यन्तीन्जेलसम्म यी प्रश्नहरु भविष्यको गर्भ मै लुटुपुटु गरिरहनेछन् ।


Back_to_top