काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले सडक जाम हटाउन चाँडै करिडोरको संचालन र पिक एण्ड ड्रपलाई उपत्यकाभर संचालनमा ल्याउने भएको छ ।
उपत्यकामा भएको अर्न्तकृया कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सडकमा भएका जाम तथा दुर्घटना घटाउन प्रहरी र ट्राफिक मिलेर करिडोर सञ्चालनमा ल्याउन लागेको बताएका हुन् ।
उनले विभिन्न स्रोत साधन तथा उपकरणको प्रयोग गरेर रिङरोड बरिपरी रहेका करिडोरको बाटो खुलाएर सवारी संचालन सहज बनाउने बताए ।
त्यसैगरी रत्नपार्कमा जस्तै अन्य ठाउँहरुमा पनि पिक एण्ड ड्रपको व्यवस्था लागु गर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।
‘हामी अहिले छलफलमा छौँ, छलफल पछि यसको योजना बन्छ र त्यसैमा काम हुने हो,’ पन्तले मेरोअटोसँग भने ।
उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ र सुरक्षित बनाउन ३ महिने अल्पकालीन कार्ययोजना तयार पारी लागू गर्ने बताए । उक्त योजना एक हप्ता भित्र तयार पारिने उनले जानकारी दिए ।
तीन महिने कार्ययोजना अन्तर्गत रिङरोड भित्रका कोरिडोर संचालनमा ल्याउने, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ, लेनसेन्टर मार्किङ बनाउने, ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षणमा ब्यापकता दिने, बस पकेट नियमन गरी ‘पिक एण्ड ड्रप’ संचालनमा ल्याउने र पार्किङ व्यवस्थापन गर्ने लगायतका कार्यक्रम रहेको पन्तले जानकारी दिए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा नेपाल प्रहरी क्लब भुकुटीमण्डपमा ‘उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना–२०७५’ सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवम् सुढृढ गर्न सरोकारवालाहरुले एकआपसमा समन्वय गरी आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध भएर आगाडि बढ्नुपर्ने बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा आयोजित उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

