काठमाडौं । अटो पत्रकार संघ (जाम)का निवर्तमान अध्यक्ष सागर गजुरेलले विदुतीय सवारीमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गर्न स्थापना गरिने कम्पनीले सवारी आयातकर्ताहरूले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवाद कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले नेपालमा विद्युतीय सवारीको बढ्दो प्रयोगलाई मध्येजनर गर्दै ब्याट्री व्यवस्थापनका लागि उद्योग आवश्यक रहेको बताए । उनले अहिल्यै ब्याट्री व्यवस्थापन उद्योग स्थापन गर्न भोल्युमले साथ नदिने भए पनि ईभी आयात गर्ने हरेक कम्पनी लगानी गर्न तयार हुनुपर्ने बताए । जसले धेरै संख्यामा गाडी बेच्छ सोही अनुपातमा लगानी गर्नुपर्ने नीति बनाउनुपर्ने उनको भनाइ छ ।
उनले सुरुमै फुलफ्लेज उद्योग स्थापन नगरी सुरुमा ब्याट्री संकलन, टेस्टिङ, सेकेण्ड लाइफ प्रयोग जस्ता काम गर्ने उद्योग खोलनुपर्ने बताए । ‘अहिल्यै फुलफ्लेट ब्याट्री व्यवस्थापन गर्न भोल्युमका आधारमा ठिक हो भनेर प्रमाणित गर्ने अवस्था छैन । सुरुमा कलेक्सन, टेस्टिङ, सेकेण्ड लाइफ प्रयोग जस्ता कुरामा काम गर्ने उद्योग लगाउनु पर्छ,’ उनले भने ‘नेपालमा गाडी आयात गर्ने हरेक कम्पनी लगानीको लागि तयार हुनुपर्छ । बीमा कम्पनीले पुनर्बीम कम्पनीमा बीमा गर्नैपर्ने व्यवस्था गरेजस्तै गर्नुपर्छ ।’
उनले नेपालमा लिथियम आयन ब्याट्री रिसाइक्लिङ फेसिलिटीको प्रविधिक र आर्थिक सम्भाव्यता सम्बन्धी अध्ययन सन् २०४३ सम्ममा १५० देखि १८० गिगावाट आवर ब्याट्री पहिलो लाइफ सकेर दोस्रो लाइफमा प्रवेश गर्ने देखाएको स्मरण गराए ।
उनले ब्याट्री स्टोरेज केन्द्रहरू निर्माण गर्नुपर्ने आवश्यकता हरेको औँल्याए । ‘ब्याट्री स्टोरेज केन्द्रहरू निर्माण गर्न आवश्यक छ । रातिको खेर जाने विद्युत स्टोेरेज गरेर पीक आवरमा बिक्री गर्न सकिन्छ । यो बिजनेस मोडल उपयुक्त हुनसक्छ । यसमा निजी क्षेत्रले नै लगानी गर्ने हो,’ उनले भने ।
उनले २० वर्षदेखि पेट्रोलमा इथानोल मिसाउने विषय चर्चामा रहे पनि सरकारले हालै आदेश स्वीकृत गर्दै इथानोल मिश्रणको बाटो खुलाएको बताए । उनले इथानोलबाट मिश्रणबाट पेट्रोल बचत हुने देखिए पनि पर्याप् मात्रमा कच्चा पद्धार्थ उपलब्ध हुनेमा आंशका गरे ।
‘इथानोल उत्पादनको हालको मुख्य स्रोत चिनी मिलबाट उत्पादन हुने मोलासिस हो । चिनी नै आयात गर्नुपर्ने देशमा इथानोल उत्पादन चाहिँ कति हुन्छ भन्ने हो । त्यसैले वैकल्पिक स्रोत खोजी गर्नुपर्ने हुन्छ । त्यसको लागि नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली लगायत प्रयोग गर्न सकिन्छ । तर, प्रशोधन सहज छैन,’ उनले भने ।
नेपाल आयल निगमले सुरुमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने घोषणा गरेको छ । यसलाई उपभोक्ताको नजरबाट पनि अध्ययन गर्नुपर्ने उनले बताए ।
‘पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने भनिएको छ । यसलाई उपभोक्ताको साइडबाट पनि हेर्नुपर्छ । पुराना नेपाल स्टायण्डर्ड ३ वा ४ सम्मका गाडीलाई यसको फाइदा धेरै हुँदैन । माइलेज घट्छ, इन्जिनमा पानीको मात्रा बढ्ने सम्भावना रहन्छ,’ उनले भने, ’तर, सकारात्मक कुरा प्रदूषण कम गर्न सहयोग पुग्न सक्छ ।’
उनले इथानोल मिश्रण गर्दा यसको लाभ मूल्यले निर्धारण गर्ने बताए । इथानोलको मूल्य पेट्रोलभन्दा महँगो भएमा लाभदायक नहुने उनको भनाइ छ । ‘यहाँ बुझ्नु पर्ने कुरा इथानोलको मूल्य हो । यदि, पेट्रोलभन्दा महँगो इथानोल पर्न गए के गर्ने,’ उनले भने ।


