बीवाइडी एटो वानमा अब मसाज सिट, स्टोरेज क्षमता १३८० लिटर

काठमाडौं । बीवाइडीको दोस्रो पुस्ताको सिगल (नेपालमा एटो १) इलेक्ट्रीक ह्याचब्याकको इन्टेरियरको थप विवरण सार्वजनिक भएको छ । कम्पनीले नयाँ एटो वान सार्वजनिक गर्नु अघि क्रमशः स्पेसिफिकेसन र फिचरहरू बाहिर ल्याएको हो ।

सार्वजनिक विवरण अनुसार दोस्रो पुस्ताको एटो वानमा चालकका लागि मसाज सिट उपलब्ध हुनेछ । साथै, अगाडिका सिटहरू विद्युतीय रूपमा समायोजन गर्न सकिने सुविधा छ।

नयाँ एटो वानको अर्को मुख्य आकर्षण बहुरङ्गी एम्बियेन्ट लाइटिङ हो । यसको ड्यासबोर्ड पनि निकै आकर्षक बनाइएको छ । नयाँ सीगल ह्याचब्याकको क्याबिनमा ३/७ स्प्लिट डिजाइन भएको ठूलो फ्लोटिङ मोनिटर राखिएको छ। यसको बायाँ भागले इन्स्ट्रुमेन्ट प्यानलको रूपमा काम गर्छ । जसमा कारको गति, गियर, रेन्ज, ऊर्जा खपत, ड्राइभिङ मोडहरू आदि बारे जानकारी देखाउँछ। डिस्प्लेको दायाँ भाग भने नेभिगेसन र सङ्गीत जस्ता अन्य इन्फोटेनमेन्ट कार्यहरूका लागि छुट्याइएको छ।

कारको दोस्रो पङ्क्तिका सिटमुनि दुईवटा सामान राख्ने स्थान छन्। पछाडिका यात्रुका लागि समायोजन गर्न सकिने एयर भेन्ट पनि उपलब्ध छ। बीवाईडीका म्याग्नेटिक ‘म्याजिक’ बटनहरू पनि कारमा उपलब्ध छन्।

दोस्रो पुस्ताको एटो वानको अर्को ठूलो परिवर्तन भनेको भनेको यसको मोटर पछाडिको एक्सलमा सार्नु हो । जसकारण अगाडिको बोनेटमुनि ९४ लिटरको अतिरिक्त फ्रंक उपलब्ध छ। पछाडिका सिटहरू फोल्ड गर्दा कारको डिक्कीमा अधिकतम १,३८० लिटरसम्म सामान राख्न सकिन्छ।

नयाँ एटो वानमा पुरानो ५५ किलोवाटको मोटरको सट्टा शक्तिशाली ९५ किलोवाटको ‘टीजेड१६४एक्सवाईबी’ मोटर प्रयोग गरिएको छ । यसले गर्दा गाडीको अधिकतम स्पीड १५० किमी प्रतिघण्टा पुगेको छ।

नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३० किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक प्रयोग हुनेछ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

नयाँ एटो वानमा स्वतन्त्र मल्टी–लिंक सस्पेन्सन प्रयोग गरिएको छ । साथै, पहिलेको १६५/१७५ मिमी टायरको सट्टा नयाँ १६ इन्चको एलोय ह्वीलमा फराकिलो २०५/६० आर १६ टायर प्रयोग गरिएको छ।

नयाँ मोडलमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फ्ल्याश चार्जिङ प्रविधि हुनसक्ने अनुमान गरिए पनि कम्पनीले चार्जिङबारे आधिकारिक पुष्टि गर्न बाँकी छ।

बाहिरी भागमा पनि नयाँ डिजाइनका ढोका ह्याण्डल प्रयोग गरिएको छ। पछाडि ठूलो रूफ स्पोइलरको तल स्प्लिट टेललाइट र तल्लो भागमा एकीकृत डिफ्युजर राखिएको छ ।दोस्रो पुस्ताको सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । यसको लम्बाइ हालकोभन्दा ४२५ एमएम र ह्वीलबेस १५० एमएम धेरै हो ।

नयाँ सिगलका केही प्रोटोटाइपमा छतमा लिडार जडान गरिएको देखिएको छ । यो प्रणाली बीवाईडीको डाइपाइलट ३०० (गड्स आई बी) लेभल २ ड्राइभिङ एसिस्टेन्स प्रणालीसँग सम्बन्धित छ। यसले नयाँ सिगलको उच्च भेरियन्टमा थप उन्नत चालक सहायता प्रविधि उपलब्ध हुन सक्ने संकेत गरेको छ। यद्यपि, बीवाइडीले सबै भेरियन्टमा उपलब्ध हुने प्रविधि र यसको विस्तृत स्पेसिफिकेसनबारे पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन।


Back_to_top