काठमाडौं । दशैंको मुखमै गाडी किन्ने योजना बनाउनु भएको छ र गाडीको लागि तपाईसँग बजेट ३० लाख रुपैयाँ छ भने धेरै छनोट पाउन सक्नुहुन्न ।
३० लाख मूल्य सेग्मेन्टमा ३ वटा ह्याचव्याक कारहरु तपाईले लिन सक्नु हुन्छ । जसमा टाटा टियागो ईभी, नामी बक्स ईभी र केई इक्युट ०४ मोडल उपलब्ध छन् ।
बजारमा ३० लाख मूल्य तिरेर किन्न पाइने कारको सूचीमा ३ मोडल भएपनि बिक्रीको सप्लाईमा समस्या हुँदा तत्कालै डेलिभरी पाउन भने मुस्किल नै छ । तर, पहिल्यै बुकिङ गरेर बसेका ग्राहकले भने गाडी पाउन सक्ने देखिन्छ ।
भारतबाट आयात हुने टाटा टियागो ईभीमा भने सप्लाईको ठूलो समस्या नआउन सक्छ । तर, कम मूल्यको पारिवारीक ह्याचव्याक मोडल भएको कारण यसलाई किन्न चाहनेको संख्या निकै राम्रो छ । त्यसैले यहि समयमा बुकिङ गर्ने हो भने कार दशैंमा पाउन सकिन्छ ।
बजारमा एसयूभी सेग्मेन्टका गाडी नै ३३ लाख रुपैयाँबाटै किन्न पाइने भएको कारण धेरै उपभोक्ता एसयूभी सेग्मेन्टमा उक्लेका छन् । तथापि, राम्रो इलेक्ट्रीक ह्याचव्याक कार खोज्नेलाई सीमित मात्रै विकल्प रहेको छ ।
नामी बक्स : डोङफेङ नामी बक्स नेपाली बजारमा चर्चित ह्याचव्याक कार हो । फिचरको हिसाबले सबै प्रतिस्पर्धीभन्दा अगाडि देखिएको नामी बक्स डिजाइनका हिसाबले पनि अब्बल मोडल हो ।

दुई भेरियन्टमा बिक्री हुँदै आएको नामी बक्सको इन्ट्री भेरियन्ट (बक्स ई२ सर्ट रेन्ज) मा ३१.४ किलोवाट आवरको ब्याट्री एलएफपी ब्याट्री दिएको छ । यसको सीएलटीसी रेन्ज ३३० किलोमिटर छ । यसलाई ३० लाख ९९ हजार मूल्य तोकेर एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको छ ।
नाडा अटो शोको दौरान कम्पनीले यसमा १ लाख रुपैयाँ नगद छुट दिएर बुकिङ लिएको थियो । यदि, तपाईको बजेट ३० लाख रुपैयाँ हो भने यो ह्याचव्याक कार एउटा उपयुक्त विकल्प हुनसक्छ ।
टाटा टियागो ईभी : भारतीय उत्पादकले बनाएको सफल इलेक्ट्रीक ह्याचव्याकको सूचीमा रहेको टियागो मूल्यको हिसाबले २९ लाख ९९ हजारमा टप भेरियन्ट किन्न पाइन्छ । नेपाल धेरै उपभोक्तालाई यसले सेवा दिँदै आएको छ ।

भर्खरै मात्र फेसलिफ्ट टियागो ईभी नेपाली बजारमा लन्च भएको छ । कम्पनीले यसमा २४ किलोवाट आवरको ब्याट्री दिएको छ । साथै, यसमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
इक्यूट-०४ : तुलनात्मक रुपमा कम मूल्य भएपनि साइजको आधारमा केई इक्यूट-०४ पनि यही सेग्मेन्टको प्रतिस्पर्धी हो । यसको मूल्य २५ लाख ९६ हजार रुपैयाँ छ ।

इक्यूट-०४ मा २८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसको रेन्ज ३०० किलोमिटर दावी गरिएको छ । यसमा ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । ३० लाखको बजेट बोकेर गाडी किन्ने योजना बनाएको मानिसले इक्यूट-०४ किन्दा ४ लाख रुपैयाँ हाराहारी बचत गर्ने देखिन्छ ।

