काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले चीनसँगको प्रमुख व्यापारिक कोदारी (तातोपानी) नाका संचालनका लागि आवश्यक पहल सुरू गरेको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै केही दिनभित्रै कोदारी नाका संचालनमा ल्याउने तयारी रहेको जानकारी दिएका हुन् ।
रुसुवा बाढी तथा लगातारको वर्षाका कारण उत्तरतर्फका केरुङ र कोरला नाकामा ठूलो क्षति पुगेपछि सरकारले कोदारी नाका संचालनलाई प्राथमिकतामा राखेको उनले बताए ।
सडकको अवस्थाका कारण नाका संचालनमा कठिनाइ देखिएपछि मन्त्रालयले अरनिको राजमार्ग अन्तर्गतको सडक खण्डलाई संचालनयोग्य बनाइसकेको उनको भनाइ छ । मंगलबार पूर्वाधार विकास मन्त्रालय सहित सरकारी तथा सम्बन्धित सरोकारवाला पक्षले अरनिको राजमार्गको संयुक्त स्थलगत अनुगमन समेत गरेको थियो ।
‘मंगलबार पूर्वाधार विकास मन्त्रालय सहित सरकारी तथा सम्बन्धित सरोकारवाला पक्षले अरनिको राजमार्गको संयुक्त स्थलगत अनुगमन गरी तत्काल नाका संचालनका लागि आवश्यक पहल सुरू गरेका छौं । केही दिनभित्रै कोदारी नाका संचालनमा ल्याउने तयारी छ,’ उनले भनेका छन् ।
बाढीका कारण रसुवागढी नाका बन्द भएपछि चीनले गत भदौ १४ गतेदेखि स्पष्ट कारण बिनै अकस्मात तातोपानी नाका बन्द गरेको थियो । विकल्पमा कोरला नाकाबाट सामान ल्याउन थालिए पनि असोज ९ देखि परेको वर्षाका कारण आएको बाढीले मालढुंगा–बेनि–कोरला सकड बन्द छ । उक्त सडक खुल्न अझै केही दिन लाग्नेछ ।

