भारतीय सवारी उत्पादक कम्पनी मारुती सुजुकीले वर्ष २०१८-१९ मा हालसम्मकै सर्वाधिक कार बिक्री गरेको छ । कम्पनीले सो आर्थिक वर्षमा १८ लाख ६२ हजार ४४९ युनिट विक्री गरेको छ । गत आर्थिक वर्षमा मारुतीले १७ लाख ७९ हजार ५७४ वटा बिकेको थियो ।
२०१९ को मार्चमा मात्र मारुतीले १ लाख ५८ हजार ७६ वटा कार बिक्री गरेको हो । त्यस मध्ये मारुतीको भारतमा बिक्री १ लाख ४७ हजार ६१३ वटा र निर्यात १० हजार ४६३ वटा रहेको छ ।
मारुतीको कुल बिक्री वृद्धि अघिल्लो वर्षको तुलनामा २०१८/१९ मा ४.७ प्रतिशतले बढेको छ । १८ लाख ६२ हजार ४४९ मध्ये आन्तरिक बजारमा १७ लाख ६५ हजार ७०० वटा बिक्री भएको हो जुन अहिलेसम्मकै धेरै हो ।
मारुतीले इन्ट्रिलेवल कारदेखि प्रिमियम कारसम्म उत्पादन गर्दै आएको छ । बलेनोले लिएको बजार, वेगनआरको आकर्षण, इग्नीस, सेलेरियो, स्वीफ्ट तथा डिजायरको बिक्री उत्साहप्रद रहेको छ । यी मोडलको बिक्री अघिल्लो वर्षको तुलनामा १९.८ प्रतिशतले बढेको छ ।
वेगनआर र अल्टोको बिक्री आर्थिक वर्ष २०१९ मा करिब ३ लाख ६९ हजार रहेको छ । युटिलिटी भेइकल जिप्सी, इर्टिगा, भिटारा ब्रेजा, एस–क्रसका साथै ओम्नी र इकोको बिक्री १ लाख ४५ हजार ३१ वटा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले घटेको हो ।

