काठमाडौं-मन्थली ३ एयरलाइन्सले नियमित उडान गर्ने

काठमाडौं । रामेछाप-काठमाडौं रुटमा पुनः नियमित उडान सुरू भएको छ ।

स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि नियमित उडान सुरू भएको हो ।

पर्यटकीय सिजन सुरू भएसँगै एयरलाइन्स कम्पनीहरुले रामेछाप-लुक्ला रुटमा उडान बढाउँदा मन्थली काठमाडौं उडान स्थगित गरेका थिए । तर, असोज १८ र १९ गते आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि पुनः काठमाडौं मन्थली हवाई उडान सुरू गरिएको हो ।

नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अबदेखि ३ एयरलाइन्स कम्पनीले रामेछापमा नियमित उडान गर्नेछन् । प्रत्येक बुधवार समिट एयर, शुक्रबार सीता एयर र शनिबार तारा एयरले रामेछाप-काठमाडौं-रामेछाप रुटमा नियमित उडान सञ्चालन गर्नेछ ।

बाढीले बीपी राजमार्गको ४८०० मिटर बढी डाइभर्सन बगाएको छ । अहिले पुनः डाइभर्सन निर्माण सुरु गरिए पनि पूरै तयार पार्न अझै एक साता लाग्ने देखिएको छ । अहिले रामेछाप, ओखलढुंगा, संखुवासभा लगायत जिल्लाका सवारी साधन खुर्कोट-मन्थलीली चरिकोट हुँदै काठमाडौं आउजाउ गरिरहेका  छन् ।

तर, दुरी भने झण्डै दोब्बर रहेको छ । खुर्कोट-मन्थली-चरिकोट-खाडीचौर-धुलिखेल हुँदै काठमाडौं आइपुग्न बीपी राजमार्गकोभन्दा १०१ किमी धेरै यात्रा गर्नुपर्छ । अर्थात् कुल २०६ किलोमिटर दुरी पार गर्नुपर्छ । बीपी राजमार्गको खुर्कोटबाट काठमाडौं आइपुग्न १०५ किलोमिटर -खुर्कोट-धुलिखेल ७५ किमी र धुलिखेल-काठमाडौं ३० किमी) दुरी पार गर्नुपर्छ ।


Back_to_top