काठमाडौं । साइबर आक्रमणमा परी झण्डै डेढ महिनादेखि बन्द रहेको विश्व चर्चित कार निर्माता ज्यागुअर ल्याण्ड रोभर (जेएलआर)ले पुनः उत्पादन थाल्ने भएको छ ।
टाटा मोटर्सको स्वामित्वमा रहेको ब्रिटिस अटोमोबाइल ब्राण्ड ज्यागुअर ल्याण्ड रोभरले आज (बुधबार)देखि आफ्ना केही कारखानाहरू संचालनमा ल्याउने भएको हो ।
रोयटर्सका अनुसार कम्पनीले पहिलो चरणमा बुधबारदेखि इन्जिन, ब्याट्री, बडी र पेन्ट पसलहरू संचालनमा ल्याउने भएको हो । साथै, सवारी साधन उत्पादन प्लाण्टका केही भागहरू पुनः संचालनमा ल्याइने कम्पनीले बताएको छ । यी प्लाण्टहरू संचालनमा ल्याउँदा ३३ हजार कर्मचारीमध्ये केही काममा फर्कने छन् ।
चरणबद्ध रुपमा कार उत्पादन प्लाण्ट पनि संचालनमा ल्याइने कम्पनीले जनाएको छ । सोलिहुलस्थित यसको मुख्य कारखानामा रेन्ज रोभर र रेन्ज रोभर स्पोर्ट सवारी साधनहरूको उत्पादन लाइनहरू यस हप्ताको अन्त्यमा सुरु हुने कम्पनीको भनाइ छ ।
गत ३१ अगस्टमा साइबर हमला भएपछि जेएलआर पूर्ण रुपमा बन्द रहेको थियो । आफ्ना प्लाण्ट र पसलहरू बन्द हुँदा कम्पनीले यस अवधिमा ४० करोड गुमाएको छ । प्रतिहप्ता ५ करोड पाउण्ड घाटा व्यहोरिरहेको छ ।
स्कैटर्ड लैप्सस हंटर्स नाम गरेको ह्याकरले जेएलआरमा साइबर आक्रमण गरेको थियो ।

