काठमाडौं । अहिले विद्युतीय सवारी साधनमा प्रयोग हुँदै आएको लिथियम ब्याट्रीमा नयाँ प्रविधि पत्ता लागेको छ । अमेरिकाको म्यासाचुसेट्समा रहेको ‘२४एम टेक्नोलोजी’ नामक कम्पनीले नयाँ प्रविधि पत्ता लगाएको हो ।
अहिले बनेका विद्युतीय सवारी साधनमा परम्परागत ‘सेल टु प्याक’ र ‘सेल टु बडी’ मोडुलको प्रयोग गर्दै आएका छन् । २४एम टेक्नोलोजीले यी दुई मोडुलको विकल्पमा ‘इलेक्ट्रोड टु प्याक’ प्रविधिको विकास गरेको जनाएको छ । उक्त प्रविधिले कम लागतमा धेरै इनर्जी इफिसियन्सी दिने उसको दाबी छ ।
विश्वका सबै इलेक्ट्रीक भेहिकलका लागि ब्याट्री उत्पादन गर्ने कम्पनीहरूको मुख्य लक्ष्य लागत घटाउने, सुरक्षामा अब्बल बनाउने, फास्ट चार्जिङ सपोर्ट गर्ने, लामो जीवन भएका र सहजै रिसाइकल गर्न मिल्ने बनाउनेमा ध्यान केन्द्रित गरेका छन् । तर, सबैले औषत सफलता पाएका छन् ।
२४एम टेक्नोलोजीका अनुसार परम्परागत सेल एन्ड मोडुल डिजाइनमा ब्याट्री प्याकको धेरै अंश निष्क्रिय र उर्जा नबोक्ने सामग्रीहरू प्रयोग भएका हुन्छन् । तर कम्पनीले विकास गरेको ‘इलेक्ट्रोड टु प्याक’मा भने इलेक्ट्रोडहरू इनर्जी स्टोर गर्ने र रिलिज गर्ने कम्पोनेन्टको रूपमा प्याकमा जोडिएका हुन्छन् ।

यस ‘इलेक्ट्रोड टु प्याक’ प्रविधिमा परम्परागत सेल कास्टिङमा जस्तो प्रयोग गर्नु पर्ने प्लाष्टिक र मेटल चाहिने छैन । यसको मतलब ‘इनर्जी स्टोर’मा प्रयोग नहुने हार्डवेरहरू हटाएर थोरै स्पेशमा समेत धेरै इनर्जी प्याक गर्न सकिने प्रविधि तयार भएको हो ।
२४एम टेक्नोलोजीले विकास गरेको नयाँ ब्याट्रीको रेन्ज सिंगल चार्जमा कारहरूमा १६०० किलोमिटरसम्म हुने कम्पनीले दाबी गरेको छ । सबै प्रकारको इलेक्ट्रोनीक्समा प्रयोग गर्न सकिने उक्त ब्याट्री कुनै पनि केमेस्ट्री र साइजको बनाउन सकिने कम्पनीले जनाएको छ ।
यो ब्याट्री विशेषत फ्लाइङ कारको लागि समेत एकदमै उपयुक्त हुनेछ । अहिले विकासकै क्रममै रहेको नयाँ ब्याट्री व्यवसायिक प्रयोगमा आउन भने अझै समय लाग्नेछ ।


