काठमाडौं । बाढी पहिरोका कारण देशभरका विभिन्न राजमार्गको ७ ठाउँमा सडक पूर्ण रूपमा बन्द रहेको छ ।
नेपाल प्रहरीका अनुसार बुधबार बिहान ९ बजेसम्म कोशी, बागमती र कर्णाली प्रदेश ६ जिल्लाको ७ स्थानमा सडकखण्ड अवरुद्ध रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकाको विभिन्न ३ ठाउँमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।
त्यसैगरी, काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न ठाउँमा बाढीले सडक कटान गर्दा बीपी राजमार्ग, इलामको राजदुवली लगायत स्थानमा अविरिल वर्षाका कारण मेची राजमार्ग र हुम्लाको खार्पुनाथ गाउँपालिका कुरिल्लामा पहिरो खस्दा कर्णाली करिडोर पूर्ण रूपमा बन्द रहेको छ ।
पहिरोका कारण अवरुद्ध मदन भण्डारी राजमार्ग (सिन्धुली), कान्ति लोकपथ (मकवानपुर), मध्यपहाडी राजमार्ग र कोशी राजमार्गको धनकुटा खण्ड भने एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।



