कम मूल्यको बाइक खोज्नेको रोजाइमा ‘रेडर’, ५ नयाँ फिचर थपियो

काठमाडौं । नेपाली बजारमा निकै सफल १२५ सीसीको मोटरसाइकलको नाम लिँदा टीभीएस रेडरको नाम अगाडि नै आउँछ । कम मूल्य स्पोर्टी लुक र उच्च पर्फमेन्सको कारण यसलाई धेरैले मन पराएका हुन् ।

खासगरी ‘राइड सेयरिङ’ गर्नेहरुको रोजाइमा परेकै कारण रेडरको बिक्री उच्च बनेको हो । यही मोटरसाइकललाई टीभीएस मोटर्सले अपग्रेड गरेर ल्याएको छ ।

कम्पनीले नयाँ अपग्रेडमा मुख्य ५ फिचरमा परिवर्तन गरेको छ । उक्त परिवर्तनपछिको रेडर नेपाल आउन भने केही महिना लाग्नेछ । टीभीएसले युवा ग्राहकमैत्री बनाउन यसलाई अपग्रेड गरेको हो ।

अन्य थुप्रै परिमार्जन भएपनि यसमा दिएको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा १२४.७ सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । उक्त इन्जिनले ११.८ पीएस पावर र ११.७५ एनएम पीकटर्क प्रदान गर्छ ।

सिंगल च्यानल एबीएस

टीभीएसले पहिलो पटक रेडरमा सिंगल च्यानल एबीएस दिएर बजारमा ल्याएको छ । एबीएसको सहयाताले पहिलेभन्दा थप सुरक्षीत बनेर रेडर बजारमा प्रबेश गरेको हो ।

खासगरी आफ्ना प्रतिस्पर्धी मोडलहरु एक्सट्रीम १२५ आर, होन्डा सिबी १२५ जस्ता मोडलमा एबीएस आएसँगै टीभीएसले पनि रेडरमा सिंगल च्यानल एबीएस दिएको हो ।

पछाडि डिस्क ब्रेक

सुरक्षाकै लागि महत्वपूर्ण मानिने डिस्क ब्रेक पनि थपिएको छ । यसअघि अगाडि चक्कमा मात्रै डिस्क ब्रेक उपलब्ध रेडर अब पछाडिको चक्कामा पनि २०० एमएम पेटल डिस्कको साथ उपलब्ध हुनेछ ।

मोटो टायर

टीभीएसले नयाँ रेडरमा मोटो साइजको टायर प्रयोग गरेको छ । यसअघि अगाडि ८० सेक्सन र पछाडि १०० सेक्सनको टायर दिएको थियो । अहिले त्यसलाई परिवर्तन गरेर अगाडि ९० र पछाडि ११० सेक्सनको टायर प्रयोग गरिएको छ ।

फलो मी हेडल्याम्प

रेडरमा रहेको अर्को रोचक फिचर ‘फलो मी हेडल्याम्प’ हो । सामान्यतया इलेक्ट्रीक स्कुटरहरुमा यो फिचर उपलब्ध हुन थालेको थियो । यो फिचरमा मोटरसाइकल बन्द गरेर चाबी निकेलेपछि पनि केही समयम हेडल्याम्प बल्छ । यसको मुख्य फाइदा अध्याँरो स्थानमा बाइक पार्किङ गरेर गन्तब्यमा जान सहयोग पुग्छ ।

थप कलर

टीभीएसले नयाँ रेडरलाई तीन कलर मिलाएर ‘ट्रीपन टोन’ बनाएको छ । साथै स्ट्राइकिङ रेड कलर पनि दिएको छ ।


Back_to_top