काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न कम्पनीको सभाले गत वर्षको नाफाबाट घोषणा गरेको २१ प्रतिशत (२० प्रतिशत बोनस र १.०५२६४ प्रतिशत नगद) लाभांश पारित गरेको हो ।
विगत १०-१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको छ। निरन्तर उत्कृष्ट प्रदर्शनका कारण नेपाल ल्यूब आयल लिमिटेड आज एक सफल र विश्वसनीय संस्थाको रूपमा स्थापित भएको छ । कम्पनीको निरन्तर विकास, शेयरधनीप्रतिको दायित्व र पारदर्शी व्यवस्थापनको शेयरधनीहरूले सभामा प्रशंसा गरेका छन्।
कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले विभिन्न चुनौतीपूर्ण परिस्थितिहरू बीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको बताए ।
विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको छ। गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ। यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा शेयरधनीहरूको विश्वास र सहकार्यलाई जान्छ। भविष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्नेछ, उनले भने ।
गत वर्षजस्तै, यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट शेयरधनीहरू उत्साहित देखिएका छन्।
नेपाल ल्यूब आयल लिमिटेडले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्रान्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको छ। गल्फ ब्रान्ड विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो । जसका उत्पादनहरू नेपालमा अत्यन्तै रुचाइएका छन्।


