रिकन्डिसन मोटरसाइकलको बजार ‘बुम’, मूल्य पनि धेरै तिर्दै उपभोक्ता

काठमाडौं । पछिल्लो समय रिकन्डिसन मोटरसाइकल/स्कुटर बजार चलायमान हुँदै गएको छ । नयाँ मोडलको बिक्री बढेसँग रिकन्डिसन बजारको बिक्री पनि बढेको हो ।

पछिल्लो दुई वर्ष मोटरसाइकल बिक्री बढ्दो क्रममा देखिएको छ । यस्तोमा रिकन्डिसन बजारमा पनि क्रमशः बढ्दै गएको छ । पुराना मोटरसाइकल र स्कुटर पनि बिक्रेताहरूसँग धेरै दिन नबस्ने अवस्था आएको बिक्रेताहरू बताउँछन् ।

कुनै समय साना र सस्ता पुराना मोटरसाइकल धेरै बिक्री हुन्थ्यो । अहिले ठूला मोटरसाइकल खोज्नेहरु बढ्दै गएको व्यवसायीहरू बताउँछन् । ३००/४०० सीसीका मोटरसाइकल किन्ने ट्रेन्ड चलेको बताउँछन् गणेश अटोका संचालक सुमन उप्रेती ।

‘अहिलो बजारमा ठूला मोटरसाइकलको बिक्री धेरै छ । हामी कहाँ पनि ठूला मोटरसाइकल खोज्ने बढ्दैछन् । बीएमडब्लू, रोयल इनफिल्ड, बेनेली जस्ता मोटरसाइकल खोज्ने धेरै आउँछन्’, उप्रेतीले मेरोअटोसँग भने ।

रिकन्डिसन बजारमा रफ्तारमा रहेको बताउँदै उप्रेतिले भने, ‘पहिलाभन्दा निकै चहलपहल बढेको छ । दैनिक जसो मोटरसाइकल बिक्री भइरहेको छन् । कम मूल्यमै निकै फ्रेस मोटरसाइकल किन्न पाउने हुँदा ग्राहकको रोजाइ रिकन्डिसन बजारमा परेको हो ।’

बालाजु नयाँ बजारमा रिकन्डिन चलाउँदै आएका रमेश ढकाल पनि ठूला बाइकमै धेरैको आकर्षण रहेको बताउँछन् । २२० सीसीको मोटरसाइकल धेरै हुने गरेको बताउँदै ढकाल भन्छन्, ‘केही समय अगाडि स्कुटर मात्रै बिक्री हुन्थ्यो, अहिले पल्सर २२० खोज्ने धेरै आउँछन् ।’

बजार पहिलेको तुलनामा निकै सुधार भएको उको अनुभव छ । उनी भन्छन्, ‘पहिला मोटरसाइकल थोत्रो नहुदाँसम्म चलाउने र पछि रिकन्डिसनमा बिक्री गर्ने चलन थियो । अहिले मन परेको मोटरसाइकल बजारमा आउँदा पुरानो दिइहाल्ने चलन बढेकोले बेच्न पनि सजिलो भएको छ ।’

पुरानो बानेश्वरमा रिकन्डिसन हाउस चलाउँदै आएका बिनोद श्रेष्ठ राम्रो मोटरसाइकल तत्कालै बिक्री गर्न सकिने अवस्था आएको बताउँछन् ।

‘राम्रो कन्डिसनको मोटरसाइकल तथा स्कुटर छ भने १/२ दिन पनि राख्नु पर्दैन । राम्रो पैसा तिर्ने ग्राहक आउँछन् । पहिला जस्तो २५/३० हजारका मोटरसाइकल वा स्कुटर अहिले रिकन्डिसन हाउसमा खोजिँदैन । त्यस्ता साधन अहिले बजारमा पनि आउँदैनन्,’ श्रेष्ठले भने ।

बजार केही महँगो भएजस्तो लागे पनि राम्रो कन्डिसनका साधन पाइने भएको कारण रिकन्डिसन मोटरसाइकलको बजार बढ्दो रहेको श्रेष्ठ बताउँछन् । राम्रा साधन किन्दा खर्च कम हुने र माइलेज पनि राम्रो पाइने भएकाले बिक्रीपछि पनि सन्तुष्ट ग्राहक बढ्दै गएको उनले सुनाए ।

हामीले उपत्यकामा रहेका रिकन्डिसन हाउसहरू सँग गरेको कुराकानीको आधारमा बजारमा १ लाख रुपैयाँदेखि एकदमै फ्रेस अवस्थाका मोटरसाइकल किन्न पाइन्छ । पहिले जस्तो ३०/४० हजारको मोटरसाइकल खोज्नेहरु आउनै छाडेको बिक्रेताहरू बताउँछन् । यसले उपभोक्ताको मूल्य तिर्ने क्षमता पनि बढ्दै गएको देखिन्छ ।


Back_to_top