काठमाडौं । आगामी ६ महिना भित्र कम्तीमा १२ लाखले क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) पाउने भएका छन् ।
बुधबार यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिटिङ प्रेस) बीच लाइसेन्स छपाइ सम्बन्धी सम्झौता भएसँगै ६ महिना भित्र १२ लाखले लाइसेन्स पाउने सुनिश्चित भएको हो ।
विभाग र केन्द्र बीच पहिलो चरणमा ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको हो । सम्झौतापत्रमा विभागका तर्फबाट महानिर्देशक राजिव पोख्रेल, निर्देशक केशव खतिवडा लगायत र केन्द्रका तर्फबाट कार्यकारी निर्देशक देवराज ढुंगानासहितले हस्ताक्षर गरेका छन् ।
विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले पहिलो चरणमा ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको जानकारी दिए ।
उनका अनुसार मुद्रण केन्द्रले आगामी साताबाटै दैनिक ५०० वटाका दरले इमरजेन्सी लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउने छ । सम्झौता अनुसारको लाइसेन्स छपाइका लागि विभागले केन्द्रलाई पर्सनलाइजेसन सफ्टवेयर बनाइ उपलब्ध गराउनुपर्नेछ । उक्त सफ्टवेयर नबुनन्जेलसम्म दैनिक ५०० का दरले र त्यसपछि दैनिक हजारौं संख्यामा लाइसेन्स छापेर वितरण गरिने उनले बताए ।
सफ्टवेयर निर्माणका लागि चाँडै टेन्डर आह्वान गरी कम्पनी छनोट गरिने उनले बताए । ‘पहिलो चरणमा ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको छ । केन्द्रले आगामी साताबाटै दैनिक ५०० इमरजेन्सी लाइसेन्स छाप्न सुरू गर्छ । लाइसेन्स छाप्न विभागले पर्सनलाइजेसन सफ्टवेयर उपलब्ध गराउनुपर्छ । त्यसका चाँडै लागि टेन्डर आह्वान गरी कम्पनी छनोट गर्छौं,’ उनले मेरोअटोसँग भने, ‘३ महिना भित्र सफ्टवेयर बनाइ केन्द्रलाई उपलब्ध गराइसक्छौं । त्यसपछि केन्द्रले दैनिक ठूलो परिमाणमा लाइसेन्स छाप्न सुरू गर्छ । ढिलोमा ६ महिना भित्र १२ लाख लाइसेन्स छापेर बाँडिसक्छौं,’ उनले मेरोअटोसँग भने ।
केन्द्रले एकदिनमै २० देखि २५ हजार थानसम्म लाइसेन्स छाप्न सक्ने भएकाले १२ लाख लाइसेन्स छाप्न ६ महिना पनि नलाग्ने उनको विश्वास छ ।ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएकाहरूले विगत ३ वर्षदेखि लाइसेन्स पाउन सकेका छैनन् । ‘चिर्कटो’ बोकर हिँड्नुपर्ने बाध्यता छ ।
चालु वर्ष भित्र सबैले पाउने
विभागका अनुसार हाल करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ । सोमध्ये पहिलोचरणमा ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भइसकेको छ । बाँकी १८ लाख लाइसेन्स पनि चालु वर्ष भित्रै छापेर वितरण गर्ने योजना रहेको निर्देशक खतिवडाले बताए ।
थप बजेट व्यवस्था गरी बाँकी लाइसेन्स छापिने उनले बताए । ‘हाल विनियोजित बजेटले १२ लाख मात्रै लाइसेन्स छाप्न पुग्ने भयो । बाँकी लाइसेन्स छाप्न थप बजेट चाहिन्छ । मन्त्रालयसँग माग्छौं । बजेट पाए चालु वर्ष भित्रै सबै लाइसेन्स छापेर बाँड्छौं,’ उनले भने ।
हालको सम्झौता अनुसार केन्द्रले १९५.१७ रुपैयाँमा एउटा लाइसेन्स छापिदिने भएको हो । सो अनुसार बाँकी करिब १८ लाख लाइसेन्स छाप्न करिब ३५ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।
प्रदेशबाटै वितरण हुने
केन्द्रले छाप्ने लाइसेन्स वितरणका लागि प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूमा पठाइने निर्देशक खतिवडाले जानकारी दिए । हाललाई इमरजेन्सी लाइसेन्स विभागबाटै वितरण गरिने भए पनि ठूलो परिमाणमा छाप्न थालेपछि प्रदेश कार्यालयहरूमा पठाइने उनले बताए ।
‘अर्कोसाताबाट दैनिक ५०० इमरजेन्सी लाइसेन्स विभागबाटै वितरण सुरू गर्छौं । तर, प्रिटिङ प्रेसले ठूलो परिमाणमा लाइसेन्स छाप्न थालेपछि विभागमा ल्याई सम्बन्धित यातायात कार्यालयहरूमा पठाउँछौं । कार्यालयहरूले त्यहीँबाट वितरण गर्छन्,’ उनले भने ।
हाल देशभरका ४२ वटा यातायात कार्यालयहरूबाट लाइसेन्स सम्बन्धी काम हुँदै आएको छ ।
लाइसेन्समा २८ वटा सेक्युरिटी फिचर हुने
केन्द्रले छाप्ने लाइसेन्समा २८ वटा सेक्युरिटी फिचर हुने निर्देशक खतिवडाले जानकारी दिए । उनका अनुसार लाइसेन्सको अगाडिको भागमा २८ वटा फिचर रहने छन् । त्यस्तै, पछाडिको भागमा पनि अगाडि रहेकै १० वटा फिचर राखिने उनले बताए ।
‘क्यूआर कोडसहितको लाइसेन्समा २८ वटा सेक्युरिटी फिचर हुनेछन् । जसमा अगाडिपट्टी २८ वटा रहनेछन् । पछाडिपट्टी पनि अगाडिकै १० वटा फिचर राखिन्छ,’ उनले भने ।

